जग्गाको किचलोले विद्यार्थी प्राक्टिकल प्रभावित
भरतपुर अस्पताल र स्कूल अफ हेल्थ साइन्सबीचको जग्गा विवादका कारण प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)का विद्यार्थीहरुको प्रयोगात्मक अध्ययन (प्राक्टिल) प्रभावित भएको छ । स्कूल अफ हेल्थ साइन्सले जग्गा नदिएको झोकमा विद्यार्थीलाई भरतपुर अस्पतालमा प्राक्टिकल गर्नबाट रोकिएपछि यस्तो स्थिति निम्तिएको हो ।
विद्यार्थीहरुको प्राक्टिकल अध्ययन सम्बन्धमा पाँच वर्षका लागि भएको सम्झौता सकिँदै गर्दा भरतपुर अस्पतालले जग्गा मागेर अत्तो थापेको बताइन्छ । अस्पतालसँगको सम्झौता यही माघमा सकिएको र यसै हप्ता स्कूल अफ हेल्थ साइन्सले आफ्ना विद्यार्थीलाई प्राक्टिकलमा पठाउनुपर्नेमा जग्गा विवादले अड्किएको स्थिति छ ।
सो जग्गा सरकारी नै हो । पहिले सबै भरतपुर अस्पतालकै थियो । पछि भोगाधिकार लिएर सञ्चालित अरु पनि सरकारी र स्वास्थ्य क्षेत्रकै महत्वपूर्ण, अत्यावश्यक सेवा प्रदायक संस्था हुन् । स्कूल अफ हेल्थ साइन्स आफ्नो प्रयोगमा रहेको जग्गा भरतपुर अस्पताललाई दिने पक्षमा छैन । जग्गा नदिए विद्यार्थी प्राक्टिकलको सम्झौता नै रिन्यु नगर्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले बताएका छन् ।
यता, स्कूल अफ हेल्थ साइन्सकी प्रिन्सिपल डा. रजनी शाह भन्छिन्, ‘विद्यार्थी प्राक्टिकलका लागि त म केही दिनमा केही न केही व्यवस्था गर्छु । गर्न सक्छु । तर जग्गा दिन सकिन्न ।’ अस्पतालले जहिले पनि अन्तिम घडीमा जग्गा किचलो झिकेर अत्तो थप्ने गरेको स्कूलको बुझाइ छ । गत मंसिरसम्म यस सम्बन्धमा मौन रहेको भरतपुर अस्पतालले एकैचोटि पुसको अन्तिममा आएर जग्गा माग्दै अप्ठेरोमा पारेको प्रिन्सिपल बताउँछिन् । अहिले यो वर्षमात्रै भएपनि विद्यार्थीहरुलाई प्राक्टिकल गर्न दिनुभन्दा अस्पतालले नमानिरहेको उनको भनाई छ ।
भरतपुर अस्पतालले भने आफूलाई भवन बनाउन अत्यावश्यक भएको भन्दै जग्गा चाहिने बताएको छ । जबकि सो जग्गामा स्कूलको गल्र्स होस्टेल र टाढा–टाढाका स्टाफ बस्ने क्वाटरसमेत रहेको छ । यसअघि पनि स्कूल अफ हेल्थ साइन्सबाट अस्पतालले केही जग्गा लिइसकेको पाइन्छ ।
सिटिईभिटीले प्रयोग गरिरहेको करिब ६ बिघामध्ये भरतपुर अस्पताललाई एक बिघा आठ कठ्ठा १६ धुर जमिन दिनू भनेर स्वास्थ्य मन्त्रालयले २०७४ मै शिक्षा मन्त्रालयलाई पत्र लेखेको, त्यसपछि स्कूललाई पनि स्वास्थ्य मन्त्रालयले पत्राचार गरेकोमा यसअघि पटक–पटक गरेर २१ कठ्ठा जति लिएको र अझै सात कठ्ठा लिनुपर्नेमा अहिलेलाई स्टोर बिल्डिङ बनाउन डेढ कठ्ठामात्रै माग्दा पनि नदिएपछि कडा रुपमा प्रस्तुत हुनुपरेको मेसुको भनाइ छ ।
आँखा अस्पतालदेखि मालपोत चोकसम्म हस्पिटलकै बिघौं जमिन खालि हुँदाहुँदै अझै स्कूलकै जग्गामा आँखा गाड्नु उचित नभएको स्कूल बताउँछ । प्रिन्सिपल रजनीले केही दिनअघि भरतपुरका मेयर रेणु दाहाललाई भेटेर जग्गाको विषयमा आफ्ना कुरा राखेकी थिइन् । मेयरले अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललाई भनिदिएको बताएपनि उनले ‘म केही गर्न सक्दिनँ’ भनेको रजनी सुनाउँछिन् ।
यस विषयमा सिडिओ कार्यालयमा समेत छलफल चलेको तर दुवै पक्ष टसमस नभइरहेको स्थितिमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल भन्छन्, ‘भरतपुर अस्पताल र सिटिईभिटीको जग्गा विवाद पहिल्यैदेखि चलिरहेको विषय हो, यो चलिनै रहन्छ । अब यिनीहरु यहाँ मिल्दैन, मिल्न सक्दैनन् भने माथि दुईवटा मन्त्रालयले नै टुंगो लाउनुपर्ने देखिन्छ । कुनै पनि निहुँमा कसैले पनि विद्यार्थीहरुको पठनपाठनमाचाहिँ अप्ठ्यारो पार्नुहुँदैन । अहिले एक वर्षका लागि भएपनि अस्पतालले रिन्यु गरिदिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’
टिप्पणीहरू