भरतपुर अस्पतालमा अचाक्ली चोरी
सरकारी अस्पतालको हैसियतमा पनि भरतपुर अस्पतालले बिरामी र कुरुवाहरुको निम्ति सकेको सेवा र सुविधा दिँदै आएको छ । बिरामीसँगै कुरुवालाई पनि अस्पतालमा निःशुल्क खाना वितरण गरिएको छ । उपचार पनि प्रायः निःशुल्क हुने गरेको छ । यसबीचमा बिरामी र बिरामीका आफन्तलाई आउँदा–जाँदा सजिलोको लागि फागुन १ गतेदेखि वरपर निःशुल्क बस सञ्चालनको जमर्काे गरिएको छ ।
तर अस्पतालभित्र चोरीका घटना भने झन् बढेको पाइन्छ । अर्थिक रुपमा निम्नदेखि मध्यम वर्गसम्मका बिरामीहरु जिल्लाभित्र र जिल्ला बाहिरबाट पनि भरतपुर अस्पताल आउने गरेका छन् । उपचारमा जाँदा सरसापट, ऋण खोजेर भएपनि केही पैसा ल्याएकै हुन्छन् । जस्तो भएपनि अहिलेको जमानामा सकीनसकी एउटा स्मार्ट मोबाइल सेट सबैले बोकेकै हुन्छन् । अस्पतालमा उपचारका लागि बस्दै गर्दा बिरामी र बिरामीका आफन्तको मोबाइल, पैसा लगायतका सामानहरु चोरी हुने गरेको छ । भरतपुर अस्पतालमा चोरीका घटना सुन्न थालिएको वर्षौं भइसकेको छ ।
शिवरात्रिका दिन गाइनो (एचडीयु) वार्डबाट एकसाथ दुईवटा एन्ड्रोइड मोबाइल चोरी भयो । ती मोबाइल बेड नम्बर ५७ र ५९ बाट हराएका हुन् । बेड नं. ५४ बाट विष्णुबहादुर सार्कीको टुकटुके मोबाइल छाडेर खल्तीमा भएको चारसय ५० रुपैयाँ नगद चोरियो । चोर भिजिटरको भेषमा जुस र फलफूल बोकेर वार्डमा छिरेको बताइन्छ । मोबाइल र पैसा चोरेपछि आफूले ल्याएको जुस र स्याउ गाइनो वार्डमै छाडेर चोर टाप कसेको बुझिन्छ । १४ गते राति ए ब्लक भवनको भुइँ र माथिल्लो तलाबाट पनि थप दुईवटा मोबाइल चोरी भएको सार्की बताउँछन् ।
केहीदिन अघिमात्र रातिकै बेला अस्पतालको सोही भवनमा वार्डको बाहिरपट्टि बरण्डामा सुतेको समयमा एकजना बुढा मान्छेको २० हजार रुपैयाँ चोरी भएकोसमेत सुनिएको छ । आज बिहान भेटिएकी एउटी किशोरीले पनि बिरामी कुरुवाको ३० हजार रुपैयाँ चोरी भएको गाइँगुइँ आफूले सुनेको बताइन् । वार्डबाहिर प्यासेजमा बिरामीका मान्छेहरु लहरै म्याट बिछ्याएर ओछ्यान लगाएर पल्टेका हुन्छन् । राति उनीहरु निदाएको बेला चोरले मौका छोप्ने गरेको बताइन्छ ।
करिब एक–डेढ महिनाअघि हुटको टोपीले टाउको छोपी अनुहारमा मास्क लगाएर आएका एकजना व्यक्तिले बिरामी कुरुवाहरु सुतिरहेको लहरबाट एउटाको मोबाइल उठाएर लगेको सिसिटिभी फुटेजमा देखियो । तर अहिलेसम्म ती चोर पत्ता लाग्न नसकेको उक्त मोबाइल धनीका आफन्तले बताए ।
२०–२५ दिनअघि १५ नम्बर काउन्टरमा पैसा बुझाउन लाइन बसेका व्यक्तिको दिनदहाडै ५० हजार रुपैयाँ चोरी भएको सुरक्षा गार्ड बताउँछन् । अस्पतालबाट साइकलहरु पनि निकै हराउने गरेको छ । कर्मचारीकै साइकल र मोबाइल पनि चोरी भएका घटना धेरै छन् । केही महिनाअघि क्याबिन वार्ड ३०१ बाट पनि मोबाइल चोरी भएको र अस्पतालकै ल्यापटप कम्प्युटर चोरले उठाएर लगेको एकजना नर्सले बताइन् ।
भरतपुर अस्पतालमा अहिले ४७ जना सुरक्षा गार्ड तैनाथ छन् । प्रहरी बिटमा दुईजना प्रहरी खटिन्छन् । सुरक्षा गार्डहरुले भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई ‘आ–आफ्नो सामानको जतन गर्नुहोस्, चोरको बिगबिगी छ, चोरी हुन सक्छ’ भनी बारम्बार सम्झाउँदै आएको पाइन्छ । बेलाबेलामा चोर समातिने गरेपनि चोरी हुनचाहिँ छाडेको छैन । बीचमा केही समय चोरी कम भएतापनि अस्पतालमा त्यस्ता घटना बढ्न थालेकाले यसलाई नियन्त्रण गर्न आवश्यक देखिएको अस्पतालका सुपरभाइजर अजेश सुवेदी स्वीकार्छन् ।
टिप्पणीहरू