जुवामा हार्ने, रातिराति अरुको घर फोर्ने

जुवामा हार्ने, रातिराति अरुको घर फोर्ने

मापदण्डविपरीत सञ्चालित भैरहवाका ‘जुवाघर’ अपराधिक अखडा बनिरहेका छन् । अवैध रूपमा नेपाली नागरिकलाई जुवा खेलाएको, हुण्डीलगायत अन्य अवैध कारोबारमा संलग्न रहेको, मापदण्ड पुरा नगरेको लगायतका उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छानबिनको नाटक गर्‍यो । सिडियो, एसपीलगायतको टीमले रुपन्देहीका छ वटा क्यासिनोमा छानबिन भन्दै रेट बढाए । तर अनुगमन र छानबिनमा परेका मिनी क्यासिनोहरुबाट अपराधलाई प्रश्रय दिएको पाउँदा पनि प्रहरी प्रशासनले आँखा चिम्लिँदै आएको पाइएको छ ।

भैरहवाको होटल निर्वाणामा क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर गेमिङ क्लब (क्यासिनो) र नान्स होटलमा सिद्धार्थ गेमिङ जोनद्वारा सञ्चालित क्यासिनो प्याराडाइज छन् । त्यस्तै मौर्य होटलमा अपूर्व गेमिङ जोन प्रालिद्वारा ग्याम्बलिङ ग्यालेक्सी, एशियन बुद्ध होटलमा एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र मणिग्रामको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सिएमजी क्यासिनो रहेका छन् । पाँचतारे होटल टाइगर प्यालेसमा सोल्टी होटलको क्यासिनो छ । अरु तीन वटा क्यासिनो शुरु हुने तयारीमा छन् ।

केही दिनअघि प्रहरीले रातको समय डकैती गरेर हिँड्ने एउटा समूहलाई पक्राउ गर्‍यो । तीमध्ये कोटहीमाई गाउँपालिका वार्ड नं. २ पकडी बस्ने रामनारायण यादवको नेतृत्वमा चोरी डकैतीमा संलग्न रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नं. ५ बस्ने प्रदीप कान्दु, भारत महाराजगञ्जका शैलेश दुषाद, पंकज सिंह र महाराजगञ्ज नौतुनवाका राहुलकुमार जैसवाल छन् ।

ती चारै जना लामो समयदेखि भैरहवाका क्यासिनोहरुमा नियमित जुवा खेल्ने नामी जुवाडे रहेको पाइएको छ । राम नारायणले एक पटकमा एक लाख भारुको जुवा खेल्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले गत महिना मात्रै २७ लाख रुपैयाँ क्यासिनोमा हारेको बताएका छन् ।

जुवा खेल्ने लत परेपछि र घरको सम्पत्ति सिध्याएपछि यादवको समूहले रातको समयमा डकैती गर्न शुरु ग¥यो । एक दर्जनभन्दा बढी घरमा डकैती र चोरी गरेको यो समूहले पछिल्लो पटक सिद्धार्थनगर नगरपालिका वार्ड नं. ३ स्थित साकिर अली अन्सारी र वसिम मुलमानको घरमा चोरी गर्‍यो । साकिरको घरबाट २५ तोला सुनका गहना, ५० हजार नगदसहितका सामान लगियो । लगत्तै बेथरी, दयानगर, छपिया लगायतका ठाउँहरुमा पनि चोरी भयो ।

क्यासिनोको कुपनबाट चार महिनादेखि भैरहवाका विभिन्न होटलमा फ्रिमा खाने बस्ने सुविधा पाइरहेका यादवले साकिरको घरबाट चोरी गरेका गहना सिद्धार्थनगर ६ गल्लामण्डीको जयश्री बालाजी ज्वेलर्समा बिक्री गर्थे । सुन पसले प्रदीप कान्दुले चोरीका गहना निकै सस्तो मूल्यमा किन्दै आएका थिए । साकिरको घरबाट चोरेका २५ तोला सुन लिएर कान्दुले यादवलाई ५ लाख रुपैयाँ दिए । उनले त्यो पाँच लाख एक रातमै निर्वाणा र मौर्य होटलको क्यासिनोमा सिध्याए ।

यादव भन्छन्– यिनै क्यासिनोको कुपनबाट होटलमा बस्थें, जुवाको लत लागेपछि चोरी गर्न थालेको हुँ । नेपाली नागरिकलाई अवैध रुपमा निर्वाध जुवा खेलाउने क्यासिनो नामका जुवा घर डाँका पाल्ने अखडा बनिरहेको यादवको भनाइबाटै पुष्टि हुन्छ । 

नेपाली नागरिकले निर्वाध प्रवेश पाउने भैरहवा क्षेत्रका कुनै पनि क्यासिनोमा चेकजाँच भने हुँदैन । नयाँ प्रहरी प्रमुख आउनासाथ लाइन सोझ्याइहाल्छन् । मासिक एउटा क्यासिनोले एसपी, सिडिओ, डिएसपीलगायतलाई दुईदेखि पाँच लाख बुझाउने गरेको छ । जसले गर्दा नेपाली छिराउँदा पनि कुनै चेकजाँच हुँदैन । कथंकदाचित चेकजाँच गर्नुपरे सञ्चालकलाई सम्पर्क गरेर आउँदै छौं भन्ने गरिएको छ । एक दिनमै लाखौं रुपैयाँ आम्दानी हुने क्यासिनोहरुले १५–२० प्रतिशत प्रहरी प्रशासन मिलाउन खर्च गर्ने गरेको बताइन्छ । बिशेष गरी निर्वाणा, मौर्य र लाकौलमा नेपालीको प्रवेश सजिलै हुन्छ । त्यसमध्ये निर्वाणा त नेपालीकै लागि खुलेको भन्दा पनि फरक पर्दैन ।

कुलतमा फस्दै युवा

सीमा क्षेत्रका कारण लागु औषधको दुव्र्यसन चुनौतिका रुपमा रहेका बेला जुवा घर अर्को चुनौति बनेको छ । नियमित क्यासिनो जाने, फ्रिमा खाने, पिउने र बस्नेसमेत सुविधा हुने भएकाले अधिकांश युवाहरु क्यासिनोको लतमा छन् । कोटहमाईका रामनारायणजस्ता यस क्षेत्रका सयौं युवा स्थानीय क्यासिनोका नियमित ग्राहक हुन् । जसले सारा सम्पत्ति सिध्याएर चोरी, डकैती, लागु पदार्थ र अन्य तस्करी गरेर भएपनि क्यासिनो जान छोड्दैनन् ।

चोरी गर्दै क्यासिनो जाने नेपालीहरु समातिएपछि प्रहरीले घटना लुकाउन चोरी अभियोगमा मात्र छानबिन गरिरहेको छ । अझ चोरीको सुन कौडीको मूल्यमा किन्ने बालाजी ज्वेलर्समाथि गम्भीर छानबिन पनि गरिएको छैन । २५ तोला सुनको मूल्य झण्डै ४० लाख हुन्छ । तर ५ लाखमा किन्ने प्रदीप कान्दुलाई सामान्य वयान लिएर १४ तोला बिगो राख्ने गरी मुद्धा चलाउने तयारी छ । छानबिन गर्दा क्यासिनोहरु पनि तानिने भएपछि प्रहरीले त्यतातिरको पाटो नै बन्द गरेर जोगाउने प्रपञ्च गरिरहेको हो ।

छानबिन हुनासाथ महिनावारी कमाइ गुम्ने डर प्रहरी अधिकारीहरुमा छ । डिआइजीसम्म महिनावारी पु¥याउने क्यासिनो सञ्चालकहरुले यो घटनालाई सामान्य रुपमा लिने गरेका छन् । तपाईंका ग्राहक चोरी केसमा समातिएका छन् नि भनेर प्रहरीले खबर गर्दा एक क्यासिनो सञ्चालकले ए होर ! ती त ठूला खेलाडी पो थिए भनेर जवाफ फर्काएका थिए । सबैभन्दा सजिलै नेपाली छिर्ने क्यासिनोको रुपमा परिचित निर्वाणाका क्यासिनो सञ्चालक मनोज सुवेदीले चोर समातिएको बिषयमा डिएसपीले आफ्नो जिएमसँग कुरा गरिरहेको भन्दै आफूलाई थप जानकारी नभएको बताए । ‘मैले डे टु डे अप्रेशन हेर्दिन, मलाई थाहा हुँदैन,’ उनले भने ।

अपराधी पाल्दै क्यासिनोहरु

अधिकांश क्यासिनोले जुवाडेलाई खाना, स्न्याक्स, मदिरा र कोठासमेत उपलब्ध गराउँछन् । प्रहरीले हालै समातेका चोरको गिरोहमध्ये रामनारायण यादव, राहुल जैसवाललगायत चार महिनादेखि गोल्डेन स्टार क्यासिनोको कुपनमा पीस नाईट गोल्डेन होटलमा बसिरहेको पाइएको छ । प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरेको छैन । एक जनाको नाममा होटलको कुपन दिने र तीन–चार जना बस्ने गरेको बताइन्छ ।

अन्य अपराध बढ्दै

क्यासिनोको अवैध धन्दाले भैरहवा क्षेत्रमा अन्य अपराध पनि बढिरहेको छ । क्यासिनो आसपासका होटलहरु बेश्यावृत्तिको अखाडा बनिरहेका छन् । प्रहरीले छड्के चेकजाँच गर्दैन । चेकजाँच गर्नुपरे पहिले नै सूचना दिन्छ । 
 

टिप्पणीहरू