आफ्नै लाहुरेलाई चिन्न नसक्दा
यता हाम्रा चेलीबेटी, दाजुभाइ, श्रीमती–आमाबुबा अनि हामी सबैको सुरक्षामा अहोरात्र खटिने हाम्रै देशका सिपाहीहरुको चाहिँ त्यति कदर भएन । देश र जनताको लागि छाती थाप्दै प्राणसमेत उत्सर्ग गर्दै आएका नेपालका वीर सेना, पुलिसहरुको आजसम्म त्यो हैसियत बन्न सकेन । आफ्नै देशका लाहुरेहरुलाई हामीले गर्व गर्नुपर्ने, खुशीका साथ छाती खोलेर भन्नु पर्ने हो नि ! तर अरु देशका लाहुरे छाती खोलेर आउन सक्छ । तर आफ्नै देशमा हाम्रा सिपाहीहरु आर्थिक हैसियतको कारण उनीहरुभन्दा कमजोर अवस्थामा छन् । अर्काको देशमा बेचिएर जानेहरुले ठूल्ठूला घर ठड्याएर यहाँ जग्गा सम्पत्ति प्रशस्त जोडेकै आधारमा उनीहरुकै ठूलो प्रतिष्ठा बनिदिएको छ ।
मुलुकमा शान्तिसुरक्षा कायम गर्ने, अपराध हुन नदिने, अपराध हुँदा घटनाको अनुसन्धानमा जुट्ने मात्र नभई जुनसुकै आपत्विपद्हरुमा उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनाको विशेष योगदान रहँदै आएको छ । अझ नेपाल प्रहरी सबैतिर अग्र भूमिकामा खटिनुपर्छ । कतै आगलागी भए निभाउन जानुपर्ने, पहिरोले बाटो छेक्दा खोल्न उनीहरु नै लाग्नुपर्ने, कसैलाई बाढीले बगाउँदा वा पानीमा डुब्दा होस् या कोही आगोमा जल्दा बचाउन उनीहरु नै हेलिनुपर्छ । तर नेपालमा देश र जनताको लागि गरेको योगदान र बलिदानको सही मूल्यांकन नहुनु एवम् गरेको कामको समेत राम्रो जस नपाउँदा हाम्रा सिपाहीहरु खिन्न छन् ।
राष्ट्रसेवक अर्काे निजामती सेवाका कर्मचारीहरुलाई बरु दिनको ६–७ घन्टा ड्युटी गरे पुग्छ । तर सेना, पुलिसको सिफ्ट भन्ने नै हुँदैन । परेको बेला खानासमेत छोडेर कुदिहाल्नुपर्छ । घटनाको अनुसन्धान सिलसिलामा सत्यतथ्य पत्ता लगाउन कहिलेकाहीँ निकै समय लाग्छ । ढिलो हुँदा पुलिसले काम गरेन भन्दै प्रहरी कार्यालय घेर्ने, प्रहरी विरुद्ध नाराबाजी गर्ने, आन्दोलनको बेला होस् या कुनै घटनाको आक्रोशमा पुलिसलाई नै टार्गेट बनाएर ढुंगामुढा गर्ने अराजक प्रवृत्ति हामीकहाँ छ । कतिपय अवस्थामा प्रहरीले संयमता अपनाउँदा अपनाउँदै ढुंगामुढा बर्साएर नागरिकले नै झडपको स्थिति निम्त्याइरहेको देखिन्छ ।
हालै मात्र गत चैत्र १५ गते राजावादीहरुको आन्दोलनका बेला केही अराजक व्यक्तिहरुको समूहले पछाडि भित्ता भएकोले भाग्नसक्ने स्थिति पनि नरहेको ठाउँमा आधा दर्जनजति प्रहरी कर्मचारीहरुलाई ढुंगैढुंगाले हानिरहेको र एउटा प्लाष्टिकको ढालले छेकिएर प्रहारबाट बच्न ती प्रहरीहरुलाई आत्थुआत्थु भइरहेको अत्यन्त टिठलाग्दो भिडियो सामाजिक सञ्जालमा देखियो । देशमा गृहयुद्ध हुँदा होस् या विभिन्न आन्दोलनमा मर्नुपर्ने, रगत बग्ने त हाम्रै नेपाली सेना, पुलिसको हो ।
नेपाली सेना र नेपाल प्रहरीकै पहराले आजसम्म मुलुकलाई बचाएर हामी यत्तिको स्वतन्त्र, सुरक्षित र देशभित्र सम्मानित रुपमा बाँच्न सकेको देनलाई हामीले नगण्य ठानिदियौं । विदेशमा त फौजमै पनि दोस्रो दर्जाको व्यवहार हुने गरेको छ । पैसाको बदला अपमान गर्दै दासत्व लाद्ने गरिन्छ । मान्छेको पहिलो सुख स्वस्थ काया, दोस्रो सुख स्वदेशमा बास र तेस्रो परिवारमा माया हो ।
हाम्रा जवानहरु पनि आफ्नो घरपरिवार छोडेर देश र जनताको सुरक्षाको लागि गाउँघरभन्दा टाढा–टाढा गएर काम गर्नुपर्छ । घामपानी भन्न पाइन्न, भनेको बेला विदासमेत पाउन्नन् । विदेशबाट मान्छेहरु छुट्टी लिएर घर आउने दशैं, तिहार जस्ता पर्वमा समेत हामै्र सुरक्षाको लागि ड्युटीमा तैनाथ हुनुपर्छ हाम्रा सिपाहीहरु । अरु सबै नागरिक राति सिरक ओढेर आफ्ना श्रीमान–श्रीमती बालबच्चासँग न्यानो अँगालोमा मस्त निदाइरहँदा लगलगी जाडोमा समेत लाठी र बन्दुक बोकेर एउटा ज्याकेट र टोपीको भरमा रातभरि जाग्दै हामीलाई पहरा कसले दिइरहेछ ? हाम्रो सुरक्षाको आधार हाम्रै जनपद एवम् सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु नै त हुन् । कुनै विदेशी लाहुरेले आएर हाम्रो देश र हामीलाई बचाउँदैनन् । ब्रिटिश गोर्खा होस् या भारतीय गोर्खा सैनिक, आइपर्यो भने भोलि उनीहरुले हामी (नेपाल र नेपाली) लाई नै सिध्याउनुपर्छ । हामीसँग कसैगरी युद्धको अवस्था आए उनीहरुले नै हामीलाई मार्नेछन् ।
तर अझैपनि भारतीय र ब्रिटिस आर्मी लगायत विदेशी सेनामा भर्तीका लागि नेपालमै ट्रेनिङ सेन्टर चलाइँदै आएको छ । विदेशीहरुले नेपाली भूमिमै आएर होनाहार युवाहरुलाई छनोट गरेर लग्ने सिलसिला चलिनैरहेछ । यसरी छानीछानी नेपालबाट विभिन्न देशमा अरु कामदार पनि ठूलो संख्यामा लगिँदै आएको छ । आफ्नो देशको लागि रगत–पसिना बगाइदिने सेवक जो अरु देशलाई चाहिएको छ, हामीचाहिँ देशमै भर्ती केन्द्र खोलाएर युवाहरुलाई बाहिर अरुको दास बनाई पठाउनमै मस्त छौं, हाम्रो सरकार यसैमा अभ्यस्त भइसकेको छ । सामानहरुचाहिँ सबै बाहिरबाट किन्ने, जनशक्तिचाहिँ विदेशीलाई बेच्ने स्थिति चरमचुलीमा पुगिसक्यो । अहिले नेपालमा सेना पुलिसको खाइपाइ आएको जागिर समेत छोडेर विदेशिनेको लर्काे छ । युरोप, अमेरिका गएर भाँडा माझ्ने जतिको शान पनि नभएपछि के गरुन् ?
अस्तिमात्र दिउँसो यस्तै साढे तीन, चार बजेतिर नवलपरासीको गैंडाकोटमा पुलको मुखैमा बाटोछेउ एउटा गाडी रोकिएको थियो । एकजना नेताको नीलो कोट गाडीबाट सुरक्षाकर्मीले झिकेर बाटोसम्म पुर्याइदिनु परेको थियो । राजनीतिक पार्टीका ती उच्च नेता बाटोपारि जम्मा भएका स्थानीय नेता कार्यकर्ता भएतिर हिँडेर जाँदै थिए । झोला पनि सुरक्षार्थ खटिएका सैनिकले नै बोकेर लगिरहेको देखियो । यसरी ठूलाबडाहरुको अंगरक्षकको रुपमा परिचालित देशका सुरक्षाकर्मीलाई कसैले लाएको जुत्ताको तुना बाँध्न लगाएको घटना पनि सुनिएकै हो । राज्यले सुरक्षाको लागि भनेर उपलब्ध गराएका सेना पुलिसलाई हाम्रा नेता तथा उच्च पदस्थ अधिकारीहरुले नोकरजसरी घरको काममा समेत लगाउने गरेको नपाइएको छैन ।
नेपाली सेना र प्रहरीमा पनि माथिल्लो दर्जाकालाई त सुविस्ता राम्रै छ । सुविधा पनि कम अनि खटाइ र पेलानचाहिँ तल्लो तहकालाई बढी हो । नेपालमा सेवा–सुविधा त मनग्गे भएन नै । अर्काको देशमा बेचिनेहरु जत्तिको इज्जत पनि नभएपछि हाम्रा जवानहरुको मनोबल कसरी बढोस् ? यदि लाहुरे शब्दलाई उच्चकोटीको वीरताको द्योतक मानिन्छ भने देश र जनताको सुरक्षा अनि उन्नति–प्रगतिमा मरिमेट्ने हरेक नेपाली सन्तान वीरताको चिनो हो र यही नै हो लाहुरेको वास्तविक निसानी ।
टिप्पणीहरू