प्रधानमन्त्री निकट नेताको टिप्पणी : पूर्व राजालाई खुशी पार्न लिङ्देनले नौटंकी गरे

प्रधानमन्त्री निकट नेताको टिप्पणी : पूर्व राजालाई खुशी पार्न लिङ्देनले नौटंकी गरे

नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुशी पार्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गज्जब उपाय अपनाएको टिप्पणी गरेका छन् । 

आज दिउँसो सिंहदरबारभित्रै प्रदर्शन गर्न खोजेका लिङ्देनसहित राप्रपाका सात नेतालाई प्रहरीले नियन्त्रणमा लिई चार घण्टापछि साँझ रिहा गरेको छ । यसलाई बस्नेतले निषेधित क्षेत्र तोडेको नाटक मञ्चनमात्र गरिएकाे प्रतिक्रिया दिए । 

‘राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, ज्ञानबहादुर शाहीले सिंहदरबारभित्रै संसदीय दलको कार्यालयमा प्रदर्शन गरेर निषेधित क्षेत तोडे भनेर नाटक मञ्चन गर्दै गिरफ्तारी दिएछन्’, उनले भनेका छन्, ‘यो उपाय चाहिँ गज्जब लाग्यो, पूर्वराजा पनि खुशी, आफू पनि सुरक्षित । उपस्थित कार्यकर्ता पनि हाजिर जनायो, घर घर गयो ।’

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली निकट बस्नेतले प्रदर्शनमा कार्यकर्ताको संख्या विजोग हुने भएपछि लिङ्देनले प्रहरीलाई झुक्याएर सिंहदरबारभित्र प्रदर्शन गर्ने रणनीति लिएको पनि बताए । ‘बाहिर सडकमा शक्ति प्रदर्शन गरेर देखाउन मान्छे नाआउलान भन्ने चिन्ता !’, उनले लेखेका छन् ।

टिप्पणीहरू