स्याल मार्न बाघको खजाना

स्याल मार्न जाँदा बाघको खजाना भनेझैं राष्ट्रिय प्रजातन्त्र पार्टीको वैशाख ७ गतेको प्रदर्शनका क्रममा हुनसक्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न करिब तीन हजार सुरक्षाकर्मी परिचालन गरियो । जबकि त्यसदिन राप्रपाका मुश्किलले ५ सय समर्थक बानेश्वरको सडकमा देखिएका थिए । नेपाल प्रहरीको तर्फबाट करिब १ हजार ८ सय र सशस्त्र प्रहरीका तर्फबाट १ हजार २ सय सुरक्षाकर्मीलाई तैनाथ गर्नुपरेबाट थाहा हुन्छ हाम्रो सुरक्षा विश्लेषण । अर्थात् एक प्रदर्शनकारीबराबर ६ सुरक्षाकर्मी ।
त्यसो त चैत १५ गतेको तीनकुने काण्डबाट राम्रै पाठ पढेकाले यस्तो बन्दोबस्त गरिएको हुनसक्छ । सोही पार्टीले बल्खुमा २६ गते आयोजना गरेको विरोध कार्यक्रममा पनि मुश्किलले ३ हजार जतिको सहभागिता थियो । यसबाट पनि हुँकार र अपेक्षाअनुसार विरोध कार्यक्रममा कार्यकर्ता वा जनताको उल्लेखनीय सहभागिता नरहेको प्रष्ट हुन्छ ।
राजनीतिक दलले आह्वान गरेको जनप्रदर्शनमा सामान्य जनताका साथै कार्यकर्ताहरूको सहभागिता पनि घट्दो छ । एमाले होस् कि कांग्रेस, वा माओवादी केन्द्र– जस्ता मैं हुँ भन्ने दलले आयोजना गरेको सभा, सम्मेलन, अभियान, आन्दोलन र विरोधका कार्यक्रममा जनताको न्यून उपस्थिति हुने गरेको छ ।
उता माओवादी केन्द्रले स्थानीय उपचुनाव र स्ववियु चुनावमा पनि कार्यकर्ता परिचालनलाई सुधार गरेको पाइयो । माओवादी यतिखेर प्रतिपक्षमा छ र अक्सर विरोधीको कुरा बिक्ने जमाना छ । प्रतिपक्षलाई सत्ताको जति आलोचना गर्दा पनि हुन्छ ।
४५ लाख सदस्य पुर्याएको दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं, पोखरा, चितवन, बुटवलजस्ता ठाउँमा उल्लेखनीय सहभागिता देखाउन सकेन । व्यक्तिको बल र अरुको निन्दामा धेरैबेर टिक्न सकिन्न । सामाजिक सञ्जाल र भीडको बलमा चम्किन खोज्ने बालेनहरु कार्यालयबाट भागी हिँड्नुपर्ने स्थिति किन आयो ? जनताको मनोविज्ञानलाई कसैले नजरअन्दाज नगर्दा हुन्छ ।
जे भए पनि हामी नागरिकका लागि हुनेचाहिँँ के हो र ? भन्ने बढ्दो वितृष्णाका कारण दलहरूको कार्यक्रममा सहभागिता कम देखिनु सबैभन्दा सोचनीय कुरा भएको समाजशास्त्रीहरुको निष्कर्ष छ ।
टिप्पणीहरू