कामु गभर्नर भोलिदेखि अनुपस्थित,ज्ञानेन्द्रमाथि आरोप
कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना भोलिदेखि काजमा विराटनगर जान लागेकी छन् । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा भाग लिन जान लागेको उनको सचिवालय स्रोतले बतायो । निलम भोलि गएर शुक्रबार फर्कने,शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै कार्यालयमा हाजिर हुने तालिका छ ।
यता रिक्त गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच दोस्रो पटक सहमति भए पनि त्यसको प्रक्रिया अघि बढेको छैन । शनिबार रातिको बालुवाटार भेटवार्तामा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट हालै राजीनामा दिएका गुणाकर भटट्लाई नयाँ गभर्नर नियुक्त गर्ने फेरि सहमति भएको छ ।
सोहीबमोजिम वैशाख ५ गते शुक्रबार निलमको कार्यकक्षमा पुगेर भट्टले राजीनामा बुझाएका थिए । राजीनामापछि ‘टेम्पर’मा आएकी कायम मुकायम गभर्नरले अनौपचारिक कुराकानीमा ‘सबै कार्यकारीले यसैगरी राजीनामा बुझाए अफिस कसरी चलाउने ?’ भन्ने जवाफ दिएकी थिइन् । सोही आशय अघिल्लो साता अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयका उच्च अधिकारीहरुसँगको कुराकानीमा झल्किएको स्रोतको दाबी छ । भट्टले राजीनामा दिएको आज १२ दिन पुगेको छ ।
यता,सरकारले गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिमा रिक्त एक जना पूर्व गभर्नर पूर्ति गर्नुपर्ने छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कमिटीमा अर्थविद् विश्व पौडेल सदस्य छन् । अर्का सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले एक महिनासम्म कमिटीको बैठक नबसेको जनाउँदै गत साता नै राजीनामा दिइसकेका छन् ।
ढुंगानाले भने आफूलाई नै गभर्नर नियुक्त गर्नुपर्ने अडान राख्दै भट्टको राजीनामा स्वीकृत नगरेको बताइन्छ । ऐनबमोजिम बहालरत कार्यकारी निर्देशक डेपुटी गभर्नरमा मात्रै नियुक्त हुन सक्छ । गभर्नरमा नियुक्त हुने योग्यताको लागि कि डेपुटी गभर्नर वा कार्यकारी निर्देशकबाट अवकाश लिएको हुनुपर्छ । भट्टलाई गभर्नर नियुक्त गर्न खोजिएको भन्दै सर्वोच्चमा दायर मुद्दामाथि अहिलेसम्म बहस भएको छैन । ‘६५ वर्षको हद र भट्टको अयोग्यता’ सम्बन्धी मुद्दाको प्रमुख योजनाकार यसअघि गभर्नर नियुक्तिका लागि विनोद चौधरीको बैंक भनेर प्रचार गरिएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना भएको बताइएको छ ।
टिप्पणीहरू