प्रहरी नागरिकको रक्षक कि भक्षक ?
सभ्य समाजमा नागरिक र प्रहरी एक रथका दुई पाङ्ग्रा हुन् । उनीहरुको सम्बन्ध नङ्ग र मासुको जस्तै हुन्छ र हुनुपर्छ । एक–अर्काबिना दुवै अधुरो हुन्छन् । नागरिकको जनधनको सुरक्षा गर्ने अधिकारप्राप्त बर्दीधारी व्यक्ति नै प्रहरी हुन् । नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ बनाउन प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा र प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
तर, त्यो कार्यक्रम नारामै सीमित बनेको धेरैको बुझाइ छ । पछिल्लो समय मुस्कानसहितको प्रहरी देखिनै छोडेको बताइन्छ । सुरक्षाको महशुस गर्नुपर्ने प्रहरीबाट सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका छन् । बर्दीको आडमा प्रहरीले आम नागरिकमाथि हात मात्र होइन्, खुट्टा पनि चलाउन थालेका छन् । शान्तिसुरक्षाका लागि सडकमा खटाइएको प्रहरीबाट त्यस्ता हर्कत हुनुले संगठन नै बद्नाम बनेको छ ।
सर्वसाधारणको नजरमा प्रहरी ‘बर्दीधारी गुण्डा’ बन्न पुगेका छन् । प्रहरीले सर्वसाधारणमाथि हातपात र दुव्र्यवहार गरेको एकपछि अर्को घटना सार्वजनिक भइरहेको छ । गत वैशाख ११ गते सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । त्यो भिडियोले प्रहरी संगठनभित्र खैलाबैला मच्चायो भने सर्वसाधारणले प्रहरीको चर्को विरोध गरे ।
सो भिडियोमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई लात्तैलात्ताले भकुरिरहेको देखिन्छ । ज्याङ्गो देखिने ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी पिट्छन् । घटनास्थलमै उपस्थित अन्य तीन ट्राफिक प्रहरीले उनलाई रोक्नुको साटो आनन्द मानेर रमिता हेर्छन् । बुट लगाएको खुट्टाले बेस्सरी कुटिएका ती युवक उठ्नसमेत सक्दैनन् ।
भिडियो सार्वजनिक भएलगत्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढायो । अनुसन्धानको क्रममा घटना २०८१ मंसिर २३ गते सुन्धारा पुलमूनि भएको खुलेको हो । त्यसपछि चारै जनालाई ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट तानेर कार्यालय झिकाई कारबाही गरियो । त्यसको भोलिपल्ट त्यस्तै प्रकृतिको अर्को भिडियो सार्वजनिक भयो ।
ट्राफिकतर्फका एक सहायक हवल्दारले सर्वसाधारणलाई लखेटिलखेटि कुटेको भिडियोमा देखिन्छ । सार्वजनिक भएको केही क्षणमै भिडियो भाइरल बनेको थियो । जनताले तिरेको कर खाएर जनतामाथि नै बल देखाउनेलाई कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को आक्रोश पोखेका छन् । गत माघमा सार्वजनिक भएको एउटा भिडियोले ठूलै हल्लीखल्ली मच्चाएको थियो ।
रातको समयमा अनुगमनका लागि खटाइएको प्रहरीले युवकमाथि निर्घात कुटपिट गरे । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले लात्तैलात्ताले तिघ्रामा हिर्काएका हुन् । बल्लतल्ल उठेर भागेका युवकलाई समातेर पुनः हिर्काइन्छ । प्रहरीको दादागिरी बढ्दै गएको भनि सर्वत्र विरोध भएपछि जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन गरेर उनीहरुमाथि कारबाही गरेको थियो ।
त्यसैगरी, केही समयअघि वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले दुव्र्यवहार गरेका थिए । ट्रलीको विषयमा भएको विवादलाई सुल्झाउनुको साटो प्रहरी हातपातमा उत्रिएको हो । माथि उल्लेखित घटनाहरु केही उदाहरण मात्र हुन् । प्रहरीले सर्वसाधारणमाथि गरेका ज्यादतीका घटनाहरु दर्जनौं छन् । प्रहरीको यस्तो व्यवहारले संगठनको छवि नै धुमिल बन्दै गएको छ । नागरिकसँग नजिकिनुपर्ने प्रहरी झनै टाँढिदै गएका छन् ।
किन संयमता गुमाउँदै छ प्रहरी ?
प्रहरी कानुनको कार्यान्वयनकर्ता हुन् । कसैले गल्ती गरेमा प्रहरीले उनीहरुलाई हत्कडी लगाउने हो तर भुइँमा पछारेर लात्ती बर्साउने होइन । प्रहरीले सर्वसाधारणजस्तै व्यवहार देखाउन थाले भने उनीहरुले लगाएको बर्दीको के औचित्य रहन्छ ? पछिल्लो समय प्रहरीले संयमता गुमाउँदै आएको छ । सर्वसाधारणलाई प्रहरीले गर्ने व्यवहार खासै राम्रो छैन ।
कुटपिटको नभएपनि प्रहरीबाट अपशब्दको शिकार धेरै सर्वसाधारण भएका छन् । त्यसैले पनि सर्वसाधारणले प्रहरीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन् । सम्झाईबुझाई गर्नुको साटो उनीहरु सिँधै गालीगलौजमा उत्रिन्छन् । बर्दी भिरेपछि आफूलाई ‘राजा’ ठान्ने प्रहरीहरु आम नागरिकलाई ‘तँ’ भनेर बोलाउँछन् । प्रहरीको कार्यशैली र बोल्ने शैलीबाट सर्वसाधारण रुष्ट बन्दै गएका छन् ।
प्रहरी मुख्यालयले आफ्ना कर्मचारीलाई संयमता र धैर्यता सिकाउन आवश्यक देखिएको जानकारहरु बताउँछन् । सर्वसाधारणमाथि बल देखाउने र अमानवीय व्यवहार गर्ने प्रहरीलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ्गको समर्थनमा केही वर्षअगाडि प्रदर्शन भएको थियो ।
सो क्रममा प्रहरीले आन्दोलनकारीमाथि एकदमै ज्यादतीपूर्ण व्यवहार देखायो । आन्दोलनकारीलाई लखेटिलखेटि कुटिएको थियो । प्रहरीले अशोभनीय कार्य गरेको र दादागिरी देखाउन थालेको भन्दै चर्को विरोध भएपछि मुख्यालयले छानबिन समिति गठन गर्यो । त्यसपछि मुख्यालयले सर्वसाधारणमाथि ज्यादती भएमा ड्युटीका ईन्चार्जलाई समेत कारबाही गर्ने चेतावनी दिएको थियो ।
सो चेतावनीपछि सर्वसाधारणलाई कुट्ने कार्य केही घटेको थियो । अहिले फेरि प्रहरीको सोही रुप देखिन थालेको छ । उनीहरुले आफ्नो रिस सर्वसाधारणमाथि पोख्न थालेका छन् । सर्वसाधारणको रक्षक बन्नुपर्ने प्रहरी भक्षक बनिरहँदा मुख्यालयले त्यसको कारण खोज्न चासो देखाएको छैन । पूर्वडिआईजी हेमन्त मल्ल प्रहरीको त्यस्ता हर्कतले संगठनमाथि अविश्वास बढ्दै गएको बताउँछन् ।
प्रहरी सचेत र जिम्मेवार नभएमा यसले संगठनको ईमेज झनै बिग्रिने उनको भनाइ छ । उनका अनुसार प्रहरीले हातपात नभई कानुनबमोजिम उपचार खोज्नुपर्छ । जनआस्थासँग उनले भने,‘प्रहरी भनेको सरकारी निकाय हो । प्रहरीले गरेका काम सर्वसाधारणले नियालिरहेका हुन्छन् । समाजमा उदण्डता बढ्दै गएको छ । त्यसैले प्रहरी थप संयमित हुन जरुरी छ । कानुनी उपचारमा जाने हो, हातपातमा होइन् । घटना दुईतिरबाटै हुन्छ तर दोषी प्रहरीलाई देखाइन्छ । विवादबाट बच्नका लागि प्रहरीहरु सचेत, जिम्मेवार हुनुपर्छ । संगठनको पनि यसतर्फ ध्यान जान आवश्यक छ ।’
संगठनले मेहिनेत गर्नुपर्ने देखिन्छः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी मुख्यालयले आफ्ना कर्मचारीमाथि मेहिनेत नगरेसम्म यस्ता घटना दोहोरिरहने बताएको छ । आयोगका सहायक प्रवक्ता उपसचिव श्यामबाबु काफ्लेले यातनाविरुद्ध प्रहरीलाई तालिम दिइरहेको बताए । तर, आयोगको मोनिटरिङ्गले मात्र नपुग्ने उल्लेख गर्दै उनले मुख्यालयले नै आफ्ना कर्मचारीमाथि मेहिनेत गर्नुपर्ने जनाए ।
भन्छन्,‘हामीले आफ्नो दायित्व पुरा गरिरहेका छौं । तैपनि यस्ता घटना भइरहेको छ । यी घटना रोक्नका लागि प्रहरी संगठनले नै कसरत गर्नुपर्छ । उहाँहरुको यातनाविरुद्धको आफ्नै पुस्तिका पनि छ । के गर्नुहुन्छ ? हुँदैन् ? त्यहीँ लेखिएको छ । तालिम दिइँदा, पुस्तकमा लेखिदाँ पनि यस्ता घटना दोहोरिनुरहनु दुःखद् छ ।’
टिप्पणीहरू