पहिले अलपत्र पुल अहिले अन्तिम चरणमा
पूर्वी नवलपरासीको गैंडाकोट–८ मा वर्षौंदेखि अलपत्र पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हिजो साँझ वडासदस्य खगेश्वर सापकोटासहित पुलको अनुगमन तथा निरीक्षणमा आएका वडाअध्यक्ष प्रेम सापकोटाले भने, ‘अब एक महिनाभित्र यो पुलको उद्घाटन हुनेछ ।’
पहिले उपभोक्ता समिति मार्फत् गरिएको काम अलपत्र भएको थियो । त्यतिबेला करिब ६० लाख रुपैयाँ खर्च भएको बताइन्छ । दुईवटा पिल्लर ठडिँदै गर्दा पुलको काम त्यत्तिकै रोकिन पुगेको थियो । त्योबेला विस्तृत परियोजना प्रतिवेदन नै नभई पुल निर्माण कार्य अगाडि बढाइएको थियो ।
‘पुल अलपत्र अवस्थामा थियो । डीपीआर नभएकाले एक वर्ष हामीलाई ठेक्का लगाउनै गाह्रो भयो’, वडाअध्यक्ष प्रेमले भने, ‘हामी निर्वाचनमा होमिँदै गर्दा पनि यो पुल सम्पन्न गर्ने घोषणा हामीले गरेका थियौं । अब केही दिनमा यसको उद्घाटन पनि गर्छौं ।’
कुलोको बाँधदेखि मुख्य राजमार्गस्थित जयश्री पुलसम्म बीचमा बाढी आउँदा, खोला बढ्दा वारिपारि गर्ने कुनै माध्यम थिएन । खोलापारि पनि बस्ती छ । उक्त स्थान जमानादेखि खेतीकिसानी हुँदै आएको ठाउँ हो । पछिल्लो समय कृषि सम्बन्धी अन्य व्यवसाय पनि सञ्चालित छन् । यहाँको सामुदायिक वनमा जाने बाटो पनि यही हो । पारिका स–साना विद्यार्थीलाई वर्षामा विद्यालय जान–आउनै ठूलो समस्या थियो । वर्षायाममा पारिका मान्छे बिरामी हुँदा एम्बुलेन्स जाने बाटोसम्म थिएन । त्यसैले वडाको महत्वपूर्ण आयोजनाको रुपमा राखेर करिब एक करोड ३० लाख रुपैयाँ लागतमा अहिले यो पुल सम्पन्न हुन गइरहेको वडाअध्यक्ष सापकोटाले बताए ।

ठेक्कामा पुल निर्माणका लागि गौरव नेपाल इन्जिनियर्स प्रालिसँग २०८० चैतमा सम्झौता भएको हो । गत चैत अन्तिमसम्म निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । केही ढिला भएपनि जापानी डिजाइनको यो पुल अब करिब–करिब सम्पन्न हुने स्थितिमा पुगेको हो ।
‘पुल बनाइसकियो । अलिकति ब्याक वाल, एप्रोच रोड र फिलिङको काम बाँकी हो’ निर्माण व्यवसायी अंकित पौडेलले भने, ‘हाम्रो प्लानिङचाहिँ अबको दुई हप्तामा उद्घाटन गर्ने हो । ढिलो भयो भने एक हप्ता अर्काे जाला ।’ यसबाट ४० टनको भार वान–वे हिँड्ने लिखित सम्झौता भएको वडाअध्यक्ष बताउँछन् ।
पुल निर्माणसँगै यहाँ तटबन्धको काम पनि अगाडि बढाइएको छ । तटबन्धको लागि एक करोडको प्रोजेक्टमा ४८ प्रतिशत सस्तोमा ५२ लाखको ठेक्का परेको बताउँदै वडाअध्यक्ष भन्छन्, ‘ठेक्का दिँदै गर्दा प्रतिस्पर्धामा केही भएपनि सहुलियत हुन्छ भन्ने कुरा यसले अवगत गराएको छ । ठूला आयोजनाहरु १० लाखभन्दा माथिको काम हामी ठेक्का मार्फत् नै गर्छाैं’, उनले थपे, ‘किनकि प्राविधिक पाटो र जिम्मेवारीको कुरा पनि हुन्छ । हाम्रो लगानी सुनिश्चित हुनुपर्छ भन्ने हो । भोलि काम बिग्रियो भने पनि ठेकेदार जवाफदेही हुन्छ ।’ कुलोको बाँधदेखि वडा नम्बर ८ को सिमानासम्म यसरी नै तटबन्ध गर्दै लगिने उनले बताएका छन् ।
अब जंगलको बाइपास रोडमा ट्रयाक खोलेर गाडी गुडाउनलाई त्यहाँको बस्ती तल सारेर व्यवस्थापन गर्न लागिएको जानकारी पनि उनले गराए । भने, ‘संघीय वा प्रादेशिक बजेटबाट यति काम गरेपछि वडा नम्बर १ देखि ९ सम्मको जंगलबाट पनि हामीलाई बाटो क्लियर हुन्छ । त्यसपछि पर्याप्त मात्रामा वैकल्पिक बाटो उपलब्ध हुनेछ । अगाडि पूर्व–पश्चिम हाइवे बन्द हुँदा पनि आउजाउमा समस्या हुँदैन ।
टिप्पणीहरू