तराईबाट हौसिएको माओवादी अब मध्यपहाडमा

तराईबाट हौसिएको माओवादी अब मध्यपहाडमा

हुलाकी राजमार्ग केन्द्रित अढाई महिने जनजागरण अभियान सकेलगत्तै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको नेकपा माओवादी केन्द्रले कार्यक्रमको खाका तय गरेको छ । 

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी कार्यक्रम बनाएको सो पार्टीले जनाएको छ । जसअनुसार अभियान जेठ १ गते डडेल्धुरा जिल्लाबाट शुरु हुनेछ ।  

भोलिपल्ट २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायल जनसंवाद सम्वाद कार्यक्रम राखिएको छ । अछामको मङ्गलसेनमा ३ गते जनसंवाद गरेर भोलिपल्ट दैलेख सदरमुकाममा जनसभा आयोजना गरिने जनाइएको छ । 

अभियान अन्तर्गत जेठ ५ गते जाजरकोट खलङ्गामा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद गरिने छ । जेठ ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र त्यहि दिन रोल्पाको थवाङमा जनसभा आयोजना गरिने छ । 

जेठ ८ गते बागलुङ र ९ गते पर्वतको कुस्मामा जनसंवाद गर्ने माओवादीको निर्णय छ । १० गते कास्कीको पोखरामा जनसभा गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेता अभियानमा सहभागी हुने जानकारी प्राप्त भएको छ । 

गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको थियो । निर्णयअनुसार फागुन १२ गते देशकै होचो स्थान झापाको कचनकवलबाट शुरु भएको हुलाकी मार्ग अभियान वैशाख १७ गते कन्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको थियो ।

पहिलो चरणको अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको माओवादीले बैशाख २० गते पदाधिकारी बैठक राखेर मध्यपहाडी अर्थात् पुष्पलाल लोकमार्ग केन्द्रित अभियान शुरु गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू