सामुदायिक विद्यालयमा बेथिति, कति हो कति

सामुदायिक विद्यालयमा बेथिति, कति हो कति

शिक्षामा राजनीति, विद्यालय र शैक्षिक अवस्थाको दुर्गति ! प्रसंग हो, पर्वतको फलेबास नगरपालिकाभित्रका विद्यालयको । नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालय आर्थिक अनियमितताको दलदलमा फसेको छ भने शैक्षिकस्तर दयनीय छ । त्यसैमध्ये एक वडा नम्बर–१ कार्कीनेटास्थित अन्नपूर्ण माध्यमिक विद्यालय पनि हो । सदरमुकाममा रहेको सो विद्यालयको शैक्षिक गुणस्तर नाजुक छ भने आर्थिक हिनामिनामा अब्बल । 

विद्यालयमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्रोतका अनुसार अख्तियारले विद्यालयमाथि छानबिन गरिरहेको छ । स्रोत भन्छ,‘विद्यालयको सबैजसो काममा अनियमितता भएको छ । छानबिनको माग गर्दै अख्तियारमा स्थानीयले उजुरी हालेका छन् । अख्तियारले अनुसन्धान गरिरहेको बुझिएको छ ।’

आन्तरिक कोषमा ‘मनमौजी’

विद्यालय व्यवस्थापनका लागि प्रयोग गर्ने उद्देश्यले आन्तरिक कोषको स्थापना गरिएको छ । सो आन्तरिक कोषमा झण्डै एक करोड रुपैयाँ छ । तर, प्रधानाध्यापक पूर्णचन्द्र शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणी शर्माले आजसम्म पनि कोषको विवरण सार्वजनिक गरेका छैनन् । रकम हिनामिना भएकाले यकिन विवरण सार्वजनिक नगरिएको स्रोतको जिकिर छ । 

कोषको रकम विद्यालय व्यवस्थापन समिति, विभिन्न राजनीतिक पार्टीका स्थानीय नेता र बिचौलियाको मिलेमतोमा दुरुपयोग भएको स्रोतको भनाइ छ । यसअघि उनीहरुले कोषमा भएको रकम मँहगो ब्याजमा स्थानीयलाई कर्जा दिएका थिए । कोषको रकम ब्याजमा लगाएको भन्दै चर्को विरोध भएपछि विद्यालयले कर्जामा लगाइएको रकम हरेक वर्ष २० प्रतिशतको दरले उठाइरहेको छ । उठाइएको रकम लगानी गर्न नसक्दा यत्तिकै रहेको अध्यक्ष शर्मा बताउँछन् । 

मुक्तिनाथ विकास बैंकमा ३० लाख रुपैयाँ मुद्दती खातामा राखिएको जानकारी दिँदै उनले सो रकम निकालेर कता लगानी गर्ने भनि अलमलमा परेको सुनाए ।  भन्छन्,‘कोषमा कति रकम छ ? त्यो हामीलाई पनि थाहा छैन् । पहिले ब्याजमा कर्जा दिएका थियौं । तर, विरोध भएपछि धमाधम उठाउँदै छौं । ठूलो रकम स्थानीयले एकैपटक दिन नसक्ने भएकाले वर्षेनि २० प्रतिशतको दरले उठाइरहेका छौं । उता, म्याद सकिएर मुद्दती खाता पनि निष्क्रिय छ । पैसा कहाँ लगानी गर्नेबारे सोच्दै छौं ।’ 

तीन कार्यकालदेखि एकै व्यक्ति अध्यक्ष 

विद्यालय व्यवस्थापन समितिमा तीन कार्यकालदेखि एकै व्यक्ति अध्यक्ष छन् । तीन कार्यकाल पूरा गरिसकेका अध्यक्ष शर्मा अझैपनि सोही जिम्मेवारीमा छन् । अरुलाई आउन नदिन उनी भाँजो हालेर बसेका छन् । एकै व्यक्ति पटकपटक अध्यक्ष हुनुले ‘दालमा कालो’ भएको संकेत गरेको छ । ‘एक दशकदेखि एउटै विद्यालय व्यवस्थापन समिति छ । एउटै व्यक्तिले अध्यक्ष भएर समिति चलाइरहेको छ । कार्यावधि सकिएपनि अध्यक्ष पदमा बसेका छन् । विद्यालयमा यति धेरै बेतिथि भएपनि सरोकारवालाको आँखा नै जाँदैन्’,स्रोतले भन्यो । 

अध्यक्ष शर्माले सो जिम्मेवारी सम्हाल्न अरु कोही तयार नभएकाले आफैं बस्नुपरेको दाबी  गरे । भन्छन्,‘मैले तीन कार्यकाल अध्यक्ष भएर काम गरिसकें । मेरो कार्यकाल गत वर्ष नै सकिएको हो । तर, निर्णय हुन नसक्दा म नै अध्यक्ष हुनुपरेको छ ।’ 

खस्किँदै नतिजा 

विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको छ । आफ्ना मान्छे भर्ती गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको छ । समितिले नयाँ शिक्षक नियुक्ति गर्दा आफ्नालाई मात्र नियुक्ति गर्ने स्थानीयको आरोप छ । दक्ष शिक्षक नहुँदा विद्यार्थीको पढाइ बिग्रिँदै गएको उनीहरु बताउँछन् । केही वर्षयता सो विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दो छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १० को परीक्षा र स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८ को बिएलई परीक्षाको नतिजाले नै विद्यालयको शैक्षिक अवस्था बताउँछ । 

कक्षा ८ मा  ४०–४२ जना विद्यार्थी भएकोमा जम्मा ७ जना उत्तीर्ण भएका छन् । अधिकांश विद्यार्थी फेल भएपछि अभिभावकले चर्को विरोध जनाएका छन् । शैक्षिक अवस्थाको मूल्याङ्कनका लागि जनप्रतिनिधि, शिक्षक र अभिभावकसहित राखिएको बैठकमा झण्डै हात हालाहाल भएको थियो । अभिभावकले शिक्षकको ‘क्लास’ लिएका हुन् । अध्यक्ष शर्मा विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको स्वीकार्छन् । अधिकांश विद्यार्थी गणितमा फेल भएको उनको भनाइ छ । 

भन्छन्,‘धेरै विद्यार्थी फेल भएका छन् । सबैभन्दा बढी म्याथमा कमजोर देखिएका छन् । जनप्रतिनिधि, अभिभावक, राष्ट्रिय युवासंघका प्रतिनिधि राखेर हामीले छलफल पनि गर्यौं । सो क्रममा झण्डै मुठभेद नै भएको थियो ।’ हाल विद्यालयमा दुई दर्जन शिक्षक छन् । 

भाडामा सटर, पैसा लटरपटर

विद्यालयले आफ्नो जग्गामा अस्थायी संरचना बनाएर भाडामा लगाएको छ । व्यापारीहरुले वार्षिक भाडावापतको रकम विद्यालयलाई बुझाउँदै आएका छन् । तर, त्यो रकम कहाँ जान्छ ? कसैलाई थाहा छैन् । व्यापारी तुलसी शर्माले उक्त अस्थायी संरचनामा व्यापार गरेको एक दशक भयो । लिजमा लिएर व्यापार थालेका उनले वर्षेनि १७ हजार रुपैयाँ भाडा बुझाउँदै आएका छन् । 

जनआस्थासँग उनले भने,‘पहिले यहाँ खाली चौर थियो । स्थानीयले त्यो जग्गा सदुपयोग हुनुपर्छ भनेपछि विद्यालयले अस्थायी संरचना बनायो । लिजमा लिएर व्यापार थालेको हुँ । अहिले १७ हजार रुपैयाँ भाडा बुझाउँदै आएको छु ।’ त्यहाँ पाँच वटा पसल सञ्चालनमा छ । उनीहरुले विद्यालयमा लगेर पैसा बुझाउने गरेका छन् । यद्यपि, उनीहरुमध्ये कसैलाई विद्यालयले सो रकम कहाँ प्रयोग गर्दै आएको छ भन्ने जानकारी छैन् । 

‘हामीले त वर्षेनि विद्यालयलाई भाडा बुझाएका छौं । त्यो पैसा के गरेका छन् ? उनीहरु नै जानुन्’,शर्माले भने । 

जथाभावी पैसा उठाउँदै विद्यालय 

सामुदायिक विद्यालय भएपनि सर्टिफिकेट, मार्कसिटलगायत हरेक शीर्षकमा पैसा असुलिँदै आइएको छ । आश्चर्यजनक कुरा के भने, विद्यालयले पैसा लिन्छ, तर रसिद दिँदैन् । यसले नै उनीहरुको नियतमा खोट देखाउँछ । विद्यालयमा राजनीति घुसेको र मनोमानी बढको स्थानीयको गुनासो छ । प्रधानाध्यापक शर्माले भने आफ्ना कुरा सुनेर विद्यालयलाई सुधार्नुको साटो आफैंलाई दबाउन खोजेको उनीहरुको आरोप छ । 

स्थानीय भन्छन्,‘पहिले पढाइ राम्रै थियो । तर, राजनीति र मनपरीतन्त्र घुसेपछि नतिजा खस्कियो । टिचरलाई नै केही आउँदैन्, विद्यार्थीलाई के पढाउँछन् ?’ जताबाट पनि पैसा उठाइरहेको विद्यालयमा आम्दानी र खर्चको हिसाबकिताब छैन् । विद्यालयले विभिन्न शीर्षकमा वर्षौदेखि अहिलेसम्म ठूलो रकम उठाइसकेको छ । यद्यपि, त्यसको लेखाजोखा राखिएको छैन् । 

अख्तियार छानबिनमा, सरोकारवाला ढाकछोपमा 

अख्तियारले छानबिन अगाडि बढाएपछि ‘कसले कसलाई बचाउने ?’ भन्ने खेल शुरु भएको छ । अनियमितता ढाकछोप गर्नका लागि दौडधुप चलिरहेको छ । फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा सोही वडाका हुन् । उनीसँग हारगुहार गर्ने काम भइरहेको स्रोतको भनाइ छ । ‘विद्यालयमा भएको हरेक काममा शंका गर्ने ठाउँ छ । धेरै काम टेण्डर आह्वान नगरिकन भएको छ । विद्यालयको भवन बनाउँदा र पर्खालमा तारबार लगाउँदा पनि टेण्डर आह्वान भएको छैन् । कमिशन खानकै लागि भत्काउने र बनाउने काम गरिएको छ । अहिले अख्तियारले छानबिन शुरु गरेपछि उनीहरुको सातो गएको छ । अनियमितता ढाकछोप गर्न दौडधुप गरिरहेका छन्’,स्रोतले भन्यो । 

अख्तियारबाट सफाइ पाउँछौंः प्रधानाध्यापक 

अख्तियारबाट पत्र आएको बताउँदै प्रधानाध्यापक शर्माले सो पत्रको जवाफ पनि फर्काइसकेको जानकारी दिए । अख्तियारबाट सफाइ पाउनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् । ‘अख्तियारमा कसले उजुरी हालेको रहेछ । फेरि उजुरीमा लेखिएको केही पनि सत्य थिएन् । तैपनि पत्र आएपछि हामीले जवाफ दियौं । त्यहाँबाट सफाइ पाउने पक्कापक्की छ’,उनले भने । 

त्यसैगरी, उनले अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फेरिने जानकारी दिए । आफ्ना सन्तान विद्यालयमा हुञ्जेल जतिसुकै कार्यकाल पनि अध्यक्ष बस्न मिल्ने उल्लेख गर्दै उनले अगाडि थपे,‘विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकहरुले अनुमोदन गर्ने हो । उहाँको सन्तानले यसैवर्ष यहाँबाट एसईई दिनुभयो । अबचाँहि उहाँ अध्यक्ष बन्न मिल्दैन् र उहाँ अध्यक्ष बस्न पनि चाहनुहुन्न ।’

टिप्पणीहरू