दुई मन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै कांग्रेस सांसदले लेखे पत्र
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टीबाट सरकारमा सहभागी भएका विवादित मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।
केही व्यक्तिले गरेको बदमासीका कारण पार्टी बदनाम भएको बताउँदै उनले संसदीय दलको कार्यालयमार्फत् सभापतिलाई पत्र बुझाएका हुन् । इमेलबाट पठाइएको पत्रमा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई तत्काल फिर्ता बोलाउन माग गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता अपत्यारिलो भए पनि प्रश्न उठेपछि नैतिक जिम्मेवारी लिनुपर्ने सांसद बजगाईंको भनाई छ । ‘गृहमन्त्री रमेश लेखक (उहाँको भद्रता सम्झँदा यो होईंन होला भन्ने एउटा मनको छेउमा लागिरहेकै भएता पनि) को सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ’, उनले पत्रमा लेखेका छन्, ‘यस्तोमा गृहमन्त्रीले नैतिक जिम्मेवारी उठ्नुपर्ने हो, यो गृह मन्त्रालयको नेतृत्व मात्र होईन, गृह मन्त्रालय संरचनाप्रतिको कानूनी प्रश्न हो ।’
पत्रमा पर्यटनमन्त्री पाण्डे पनि विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको र त्यसले पार्टीलाई नै कमजोर बनाउन सक्ने भएकाले तत्काल बर्खास्त गर्न देउवाको ध्यानाकर्षण गराइएको छ । उनीहरुलाई बर्खास्त नगरे कांग्रेसले नैतिक धरातल गुमाउनेमा बजगाईंले सचेत गराएका छन् ।
‘एकाध मन्त्री थपिएलान्, एकाध पार्टीलाई थप उचाईमा उठाउने पनि होलान् । प्रसंशा र बर्खास्ती सँगै होस्, यसो नगरेमा पार्टीले आफ्नो नैतिक धरातल गुमाउनेछ’, उनले थपेका छन्, ‘पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस् ।’
पर्यटनमन्त्री पाण्डे र सांसद बजगाईंको सम्बन्ध हार्दिकतापूर्ण छैन । केही समयअघि बुटवलको एक क्यासिनोलाई इजाजत दिन मन्त्री पाण्डेले करोडौँ घुस खाएको आरोप बजगाईंले लगाएका थिए । यद्यपि, पार्टीको अनुशासन समितिले आफ्ना असन्तुष्टि कमिटीमा राख्न सचेत गराएपछि उनले मन्त्री पाण्डेमाथि लगाएको आरोप फेसबुकबाट हटाएका थिए ।
टिप्पणीहरू