भन्सारमा हात लम्काएका प्लाइउडका मालिक राजश्वको फन्दामा

भन्सारमा हात लम्काएका प्लाइउडका मालिक राजश्वको फन्दामा

५० लाख बढी राजश्व चुहावट गरेको आरोप लागेका रुपन्देहीका एक व्यवसायीमाथि मुद्दा चलाइएको छ । 

सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेटस्थित सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज दायर आरोपपत्रमा निज प्रतिवादीले भन्सार छलेर ५३ लाख २७ हजार ६४६ रुपैयाँ राजश्व छलेको दाबी गरिएको छ । 

‘निजले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा प्रविष्ट नगरेको, बीजक जारी नगरी मालवस्तु बिक्री गरेको, मौज्दात विवरणभन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको कुनै प्रमाण नभएकोले उक्त कार्यबाट राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको,’ अभियोगपत्रमा उल्लख छ । 

राजश्व अनुसन्धान विभाग, बुटवल शाखा प्रमुख विवेक घिमिरेका अनुसार भन्सार पैठारीतर्फ ३२५ हजार ८०७, मूल्य अभिवृद्धि करतर्फ अधिक मौज्दात दुई लाख ५२ हजार २७८ तथा न्यून मौज्दाततर्फ १५ लाख ६९ हजार २३६ र आयकरतर्फ ३१ लाख ८० हजार ३२५ गरी व्यवसायी अग्रहरीविरुद्ध ५३ लाख २७ हजार ६४६ रुपैयाँ बिगो कायम गरिएको छ । 

साथै, शतप्रतिशत जरिवाना गरी उनीसँग एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुलउपर गर्न र सजाय हुन राजस्व कार्यालयले मागदाबी लिएको छ ।

टिप्पणीहरू