दिन एक, दिवस अनेक
आज मुलुकभर गणतन्त्र दिवस मनाईंदैछ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपतिहरु, पूर्व प्रधानमन्त्रीहरुले गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । सो अवसरमा आज विभिन्न कार्यक्रम गरिँदै छ । २०६५ जेठ १५ गतेका दिन पुनस्र्थापित संसद बैठकले मुलुकमा गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।
आजै ७२ औं सगरमाथा दिवस मनाईंदै छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए । त्यसैले हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ । सोही कार्यक्रममा भाग लिन न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री हिजो काठमाडौं आएर आज लुक्ला पुगेका छन् ।
आजै ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिँदै छ । बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट निकालिएको झाँकीसहितको प्रभातफेरी वसन्तपुर पुगेको छ ।
आजै दिउँसो उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को आय–व्यय (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ । अस्तिदेखि संसद बैठक अवरुद्ध पारेका विपक्षी दलका सांसदहरुले आज बजेट प्रस्तुत गर्न दिने बताएका छन् । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
टिप्पणीहरू