शिक्षालाई निजीकरणतर्फ धकेलेको भन्दै आपत्ति

शिक्षालाई निजीकरणतर्फ धकेलेको भन्दै आपत्ति

त्रिभुवन विश्वविद्यालयले शिक्षालाई निजीकरणतर्फ धकेल्ने चलखेल भैरहेको भन्दै स्ववियुले आपत्ति जनाएको छ । 

सरकारी क्याम्पसहरुमा विद्यार्थी भर्ना रोकिएको तर निजी कलेजहरुले धमाधम भर्ना लिइरहेकाले निजीकरणलाई बढावा दिएको स्ववियुको ठहर छ । त्रिविले स्नातक तहमा भर्ना हुने समयावधि गत फागुन ११ गतेसम्म तोकेको थियो । तर, निजी विद्यालयलाई प्रश्रय दिने गरी रजिट्रेशन फाराम पुनः खोलिएको भन्दै स्ववियुले आपत्ति जनाएको छ । 

‘फागुन ११ गतेसम्म भर्ना खुला भनिएको निर्णयको तापर्य सरकारी क्याम्पसहरुमा मात्र लागू हुने हो कि निजी क्याम्पसहरुमा पनि सोही सीमा हो भन्ने कुरा स्पष्ट नहुने र व्यवहारिक रुपमा निजी क्याम्पसको भर्ना गर्दागर्दै रजिष्ट्रेशन फाराम स्वीकार गरिँदै आएको तथ्यले यस प्रकारको दोहोरो मापदण्डलाई पुष्टि गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

हालै उपकुलपति कार्यालयमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्ववियुले विश्वविद्यालय प्रशासनको ढिलाई, संवादहीनता र विद्यार्थीको उपेक्षाबाट त्यस्तो अवस्था आएको बताएको छ ।

‘उपकुलपतिज्यूद्धारा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा देखाइएको प्रतिबद्धता सकारात्मक कदमका रुपमा लिइनुपर्ने भएतापनि विश्वविद्यालय आफैंले हप्ता हप्तामा शैक्षिक क्यालेन्डर परिवर्तन गर्नु र विद्यार्थी आवश्यकता नजरअन्दाज गर्नुले असंवेदनशीलता झल्किन्छ,’ स्ववियुले उल्लेख गरेको छ । 

यद्यपि, शैक्षिक आन्दोलनको मार्गलाई नै भ्रमित बनाउने कुनै पनि अराजकता, तोडफोड, तालाबन्दीको कडा निन्दा गर्ने र विद्यार्थीका न्यायोचित मागलाई शान्तिपूर्ण, अनुशासित र वैचारिक संवादमार्फत सम्बोधन गराउन प्रतिबद्ध रहेकोसमेत स्ववियुले जनाएको छ ।

टिप्पणीहरू