प्रिक्साको सहकार्यमा अनलाइन अतिथि प्रवचन कार्यक्रम
नेपाल खुला विश्वविद्यालयअन्तर्गत सामाजिकशास्त्र तथा शिक्षा संकायको ‘मास्टर इन मिडिया एण्ड कम्युनिकेशन स्टडिज’ कार्यक्रममा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीहरूका लागि आयोजित ‘न्यू मिडिया र समाज’ विषयक अनलाइन अतिथि प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
मिडिया एण्ड कम्युनिकेशन स्टडिजको संयोजन तथा प्रिक्सा टेक्नोलोजीजको सहकार्यमा गरिएको कार्यक्रममा प्रिक्साका विशेषज्ञद्वय राजन काफ्ले र सुजल पौडेलले सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा भइरहेको तीव्र विकास, नवप्रवर्तन र नेपाली सञ्चारमाध्यममा त्यसको प्रयोगमाथि आफ्ना अनुभव तथा विश्लेषण प्रस्तुत गरे ।
काफ्लेले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले पत्रकारितामा ल्याउन सक्ने परिवर्तनबारे प्रकाश पार्दै समाचार लेखन, तथ्य जाँच, डाटा विश्लेषण र पाठकलक्षित सामग्री वितरणमा त्यसको प्रभावकारिताबारे जानकारी गराए । उनका अनुसार एआईले पत्रकारितालाई थप छरितो, विश्लेषणात्मक र सन्दर्भअनुकूल बनाउन सहयोग गर्छ ।
त्यसैगरी, पौडेलले पत्रकारिता क्षेत्रमा विकसित प्रविधिहरूको भूमिका र पत्रकारसँग प्रविधिको सहकार्यबारे विस्तृत रूपमा चर्चा गरे । उनले भने,“प्रविधिले पत्रकारलाई विस्थापित गर्न खोजेको होइन, उनीहरूको कामलाई सहज बनाउने चाहेको हो ।” साथै, उनले प्रविधिको नैतिक प्रयोग, व्यावसायिकता र निरन्तर सिकाइका माध्यमबाट आफूलाई सशक्त बनाउनु आजको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले एआईको प्रयोग, पत्रकारिताको भविष्य र नेपाली सन्दर्भमा त्यसको व्यवहारिक प्रयोगबारे विविध प्रश्न उठाउँदै अतिथिसँग दोहोरो अन्तरक्रिया गरेका थिए । कार्यक्रमका संयोजक विकास ढकालले सो कार्यक्रममार्फत विश्वविद्यालयले प्रविधिमैत्री सञ्चार शिक्षाको प्रवर्द्धनमा जोड दिएको बताए । त्यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समयअनुकूल प्राविधिक सीप, समसामयिक दृष्टिकोण तथा डिजिटल साक्षरतामा दक्ष बनाउने उद्देश्य राख्ने उनको जिकिर छ ।
सरकारले सन् २०१६ मा स्थापना गरेको नेपाल खुला विश्वविद्यालयले शिक्षालाई सबै नागरिकसम्म पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । विशेषतः दूरदराजमा रहेका तथा नियमित कक्षा उपस्थित हुन नसक्ने विद्यार्थीहरूका लागि अनलाइन र दूरशिक्षा प्रणालीमार्फत उच्च शिक्षा प्रदान गर्दै आएको यो विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा मिडिया एण्ड कम्युनिकेशन स्टडिज कार्यक्रम सञ्चालन गरिरहेको छ।
टिप्पणीहरू