परराष्ट्रमन्त्रीकाे हङकङबाट आगमन
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा हङकङबाट फर्कनुभएको छ । अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिमा पर्यवेक्षक मुलुकको तर्फबाट सहभागी भएर उहाँ गएराति काठमाडौं आउनुभएको हो ।
महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका छन् । तर समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठनका प्रतिनिधि सहभागी थिए । संगठनले विभिन्न मुलुकबीच र ती देशका व्यापारिक कम्पनी वा व्यवसायीहरूबीच उत्पन्न हुने विवादलाई मध्यस्थताद्वारा समाधानको प्रयास गर्नेछ ।
मन्त्री डा. राणाले सो क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका विषयहरूमा कुराकानी भएको थियो ।
मन्त्री राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको उल्लेख गर्नुभयो । दुबै मुलुकले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा नेपालको भ्रमणका लागि परराष्ट्रमन्त्रीले चिनियाँ विदेशमन्त्री वाङलाई निमन्त्रणा पनि दिनुभएको छ । उहाँ बुधबार राति काठमाडौंबाट हङकङ जानुभएको थियो ।
टिप्पणीहरू