टाउको दुखेको बिरामीलाई आइरन चक्की

टाउको दुखेको बिरामीलाई आइरन चक्की

कालिकोटको खाँडाचक्र नगरपालिका–३, मा रहेको ताडी आधारभूत स्वास्थ्य केन्द्रमा ताल्चा लगाइएको छ । दुई हप्तादेखि कर्मचारीविहीन स्वास्थ्य केन्द्रमा टाउको दुखेर गएका बिरामीलाई कार्यालय सहयोगीले आइरन चक्की दिएपछि स्थानीयले बन्द गराएका हुन् । खोकी लागेर टाउको दुखेपछि स्थानीय एक बिरामी हिजो औषधि लिन स्वास्थ्य केन्द्र पुगेका थिए । 

तर, उनलाई कार्यालय सहयोगीले आइरन चक्की दिएको स्थानीयको भनाइ छ । ‘बिरामी नागरिकलाई दुःख दिनु राम्रो विषय होइन, खोकी लागेर टाउको दुखेको बिरामी औषधि लिन आएकोमा कार्यालय सहयोगीद्वारा आइरन चक्की वितरण गर्नु नागरिकको जीवनमा खेलबाड हो । तसर्थ, कार्यालयमा कार्यरत कर्मचारीलाई कारबाहीको माग गर्दछौं,’ स्थानीयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उनीहरुले पावर र पहुँच देखाउँदै बिरामीलाई पटकपटक धम्काउनेजस्ता क्रियाकलाप कर्मचारीबाट हुँदै आएकोसमेत आरोप लगाएका छन् । साथै, कर्मचारीहरु कार्यालय समयमा नआउने र सरकारले निःशुल्क उपलब्ध गराएका औषधि सेवाग्राही अथवा बिरामीलाई नदिएको गुनासोसमेत छ ।

टिप्पणीहरू