‘राष्ट्रिय सूचना दिवस’ पहिलोपटक देशव्यापी
राष्ट्रिय सूचना आयोगले आगामी भदौ ३ गते भव्यताका साथ ‘राष्ट्रिय सूचना दिवस’ मनाउने भएको छ । पहिलोपटक देशव्यापी रुपमा सो दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा तीन तहमै कार्यक्रम आयोजनाका लागि प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यको अध्यक्षतामा १० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
सदस्यमा आयोगका सूचना आयुक्त गगन विष्ट, दुर्गा भण्डारी पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, नेपाल नगरपालिका संघका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष, सबै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रहेका छन् ।
त्यसैगरी, आयोगका सचिव दीर्घराज मैनाली सदस्यसचिव तोकिएका छन् । ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४’ जारी भएको दिनलाई ‘राष्ट्रिय सूचना दिवस’ को रुपमा मनाइन्छ । संघमा मात्र कार्यक्रम गरेर मनाउँदै आइएको दिवस यसपटक भने देशव्यापी रुपमा मनाउने निर्णय गरिएको हो ।
टिप्पणीहरू