दुई बुँदे कार्यन्वयन नभए विरोधमा उत्रने प्रचण्डको चेतावनी

दुई बुँदे कार्यन्वयन नभए विरोधमा उत्रने प्रचण्डको चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसँग भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोधमा उत्रिने चेतावनी दिनुभएको छ । 

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सदनबाट केही महत्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले जिम्मेवार प्रतिपक्षको रुपमा सहमतिमा जानुपरेको उल्लेख गर्नुभयो । सदन अवरोधले मात्र निकास निस्कने नदेखेपछि सहमतिका साथ अगाडि बढ्न खोजेको प्रचण्डले प्रष्ट्याउनु भयो ।  

'अहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ', उहाँले भन्नुभयो, 'यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ ।'

पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उहाँले ठाडै इन्कार गर्नुभएको छ । भन्नुभयो, 'यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन् । त्यस्तो केही  होइन । भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन ।'

टिप्पणीहरू