३७ जिल्लामा बाढीको जोखिम, ‘एल्लो वारेन्ट’ जारी

३७ जिल्लामा बाढीको जोखिम, ‘एल्लो वारेन्ट’ जारी

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा बाढीको सम्भावना देखाएको छ । काठमाडौँ उपत्यकासहित ३७ जिल्लाका नदी तटीय क्षेत्रमा आज बाढी आउनसक्ने महाशाखाले जनाएको हो । 

ती क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको उल्लेख गर्दै महाशाखाले सतर्कता अप्नाउन भनेको छ । जसअनुसार १४ वटा जिल्लामा ‘एल्लो वारेन्ट’ जारी गरिएको छ । जसमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, ललितपुर, भक्तपुर, काभ्रे, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, कैलाली र कञ्चनपुर रहेका छन् । 

त्यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, तेह्रथुम, ओखलढुंगा, मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बग्ने स–साना नदीहरुको बहाव बढ्ने महाशाखाले जानकारी दिएको छ । 

‘एल्लो वारेन्ट’ ले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहने संकेत गर्दछ । महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र त्यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहनेछ । 

ती नदीका तटीय क्षेत्रमा बस्नेहरुलाई महाशाखाले सतर्कता अप्नाउन सुझाएको हो ।
 

टिप्पणीहरू