राससमा महाप्रबन्धक नियुक्तिको तयारी

राससमा महाप्रबन्धक नियुक्तिको तयारी

राष्ट्रिय समाचार समितिमा रिक्त हुन लागेको महाप्रबन्धक पदमा नयाँ नियुक्तिको तयारी गरिएको छ । 

महाप्रबन्धक सिद्धराज राईको चार वर्षे कार्यकाल केही दिनमा सकिन लागेकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर दरखास्त मागेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी असार १५ गतेभित्र दरखास्त पेश गर्न भनिएको छ । 

सूचनामा उम्मेवारको न्यूनतम शैक्षिक योग्यता स्नातक तह तोकिएको छ भने कानूनबमोजिम दर्ता भएको सञ्चारमाध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रुपमा काम गरेको वा आम सञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्ने जनाइएको छ । 

यस्तै, कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको वा अवकाश प्राप्त व्यक्तिको हकमा कम्तीमा अधिकृत स्तरको पदमा काम गरेको हुनुपर्छ । 

पत्रकार आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको र उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । दरखास्त सञ्चार मन्त्रालयको संस्थान समन्वय शाखामा बुझाउनुपर्ने छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू