एमालेकै सांसद भन्छन् : बजेटमा गरिएको राजश्वको प्रस्ताव चुनौतिपूर्ण छ

एमालेकै सांसद भन्छन् : बजेटमा गरिएको राजश्वको प्रस्ताव चुनौतिपूर्ण छ

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्व अनुमानित लक्ष्य चुनौतिपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त धारणा राखेका हुन् । बजेट तुलनात्मक रुपमा यथार्थपरक देखिए पनि राजश्व संकलन भने चुनौतिपूर्ण रहेको आचार्यको भनाई छ । 

‘बजेटमा अर्थमन्त्रीले स्रोत कसरी जुटाउने भनेर भन्नुभएको छ, राजश्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ । र राजश्वबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने १ खर्ब ६५ अर्ब जोड्दा जम्मा राजश्व १४ खर्ब ८० अर्ब उठाउनुपर्ने प्रस्ताव छ’, उनले भने, ‘वैदेशिक अनुदानमा ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणमा २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्ब भन्ने छ । यो जुन खालको प्रस्ताव छ यो अत्यन्तै चुनौतीपूर्ण छ ।’

अर्थतन्त्रमा सुधार र अहिलेको परिस्थितिअनुकुल बजेट ल्याउने प्रयत्न सरकारले गरेको जिकिरका साथ आचार्यले यसलाई सकारात्मक पक्षका रुपमा चर्चा गरे । निजी क्षेत्रका समस्या समाधान गर्दै लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेट प्रस्तुत हुन खोजेको उनले बताए । 

आयोजनाहरुमा लगानी भैरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित रहेको दाबी सत्तारुढ दलका सांसदको छ । अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यबृद्धि र निर्यातजन्य कुरामा नकारात्मक प्रभाव पर्नसक्ने खतरा औल्याउँदै आचार्यले यसलाई पनि बजेटको चुनौतिपूर्ण पक्षका रुपमा विश्लेषण गरेका छन् । 

बजेटका विशेषताअनुरुप कार्यान्वयन र खर्चको स्रोत जुटाउने विषय कठिन रहेको उनको निचोड छ ।

टिप्पणीहरू