एमाले सांसद भन्छन्- रास्वपाको कारण सांसद भन्न लाज लाग्यो
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अपनाएको विरोधको शैलीप्रति आपत्ति जनाएका छन् ।
रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको उनले टिप्पणी गरे । ‘उहाँहरुले विरोधको जुन शैली अवलम्वन गरिरहनु भएको छ यसले हामी आफैंलाई पनि यो लोगो लगाएर हिँड्न अपमानित हुने परिस्थिति सिर्जना गरिरहनुभएको छ’, संसद भवन बाहिर बर्तौलाले भने ।
रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभएपनि संसदमा विरोध गर्दा न्यूनतम मर्यादाभित्र रहनुपर्ने उनको धारणा छ । संसदलाई कपालभाँती गर्ने थलो बनाइएको भन्दै बर्तौलाले आक्रोश पनि पोखे ।
‘संसद राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको विरोधको नाममा कपालभाँति गर्ने ठाउँ होइन । विरोधको शैलीमा पनि उहाँहरुले न्यूनतम मर्यादामा रहनुपर्छ’, उनले भने, ‘त्यो न्युनतम मर्यादालाई पनि समाप्त पारेर जुन शैली र व्यवहारका साथ विरोध गरिरहनुभएको छ त्यसले हाउस अगाडि जाने कुरा सहज भएन । त्यसकारण सभामुखज्यूले दलहरुका बीचमा सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।’
संसदलाई अगाडि बढाउनको दलहरुको बीचमा सहमतिको वातावरण बनाउन दलहरुलाई सभामुख देवराज घिमिरेले आग्रह गरेको कुरा बर्तौलाले जोड दिएर सुनाए ।
टिप्पणीहरू