भारतीय सैनिकहरु आउने–जाने क्रम जारी

भारतीय सैनिकहरु आउने–जाने क्रम जारी

नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेण्ट जनरल रञ्जित सिंह स्वदेश फर्किएका छन् । जेठ २५ गते एअर इण्डियाको एआई२११ नम्बर उडानबाट काठमाडौं आएका सेनाको अनुशासन,समारोह र कल्याण विभागका महानिर्देशक उनीसहित दुई जना एअर इण्डियाकै विमानबाट स्वदेश फिर्ता भएका हुन् । 

एआई २२२० नम्बरको उडानबाट गत जेठ ३० गते दिल्ली गएका उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै भारतीय दूतावास पुगेका थिए । भारतीय अधिकारीहरुसँग भेटवार्तापछि उनीहरु विभिन्न कार्यक्रममा सहभागी भए । सो क्रममा उनीहरुले भूपू नेपाली सैनिकहरुसँग पनि भेटघाट गरेका थिए । 

त्यसैगरी, भारतीय सेनाका अर्का लेफ्टिनेण्ट जनरल अजय रामदेव पनि स्वदेश प्रस्थान गरेका छन् । गत जेठ २० गते एअर इण्डियाको एआई२२२० नम्बरको उडानबाट उनको नेतृत्वमा काठमाडौं आएको तीन सदस्यीय टोली ‘नेपाल–भारत संयुक्त कञ्चनजङ्गा हिमाल आरोहण–२०२५’ मा सहभागी भएको थियो । 

नेपाली सेनासँग कञ्चनजङ्गाको सफल आरोहण गरेका उनीहरु जङ्गीअड्डास्थित सभामण्डप हलमा रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा सम्पन्न  झण्डोत्तोलन कार्यक्रममा पनि उपस्थित भएका थिए । उक्त टोलीलाई नेपाली सेनाका उपरथी ध्रुर्वप्रकाश शाहले बिदाई गरे । 

उनीहरु भन्दाअगाडि भारतीय सेनाको एक टोलीले कञ्चनजङ्गा हिमालको सफल आरोहण गरेको थियो । कर्णेल सर्फराज सिंहसहित आठ सदस्यीय टोली कञ्चनजङ्गा हिमाल चढेको हो । सो टोली जेठ २१ गते नेपाल एअरलाइन्सको आरए२१७ मार्फत भारत फर्किएको छ ।
 

टिप्पणीहरू