क्याविनेटका १९ निर्णयमा आधा दर्जन विदेश भ्रमण

क्याविनेटका १९ निर्णयमा आधा दर्जन विदेश भ्रमण

क्याविनेटको पछिल्लो निर्णयमा पनि उच्च पदस्थ सरकारी अधिकारी (भिआइपी) हरुको विदेश भ्रमणले निरन्तरता पाएको छ । सोमबार बसेको बैठकले १९ वटा विभिन्न निर्णय गरेकोमा आठ वटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने स्पेन भ्रमण क्याविनेटले पास गरेको छ । असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने क्याविनेटको निर्णय छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि विदेश जाँदै छन् । असार १३ देखि १५ गतेसम्म टर्कीमा आयोजना हुने ग्लोवल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरममा सहभागी हुन उनी त्यता जान लागेका हुन् । क्याविनेटले उनको भ्रमण पास गरेको छ । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी दुबईमा छन् । हिजोदेखि शुरु भएको एन्टिडोपिङको २०औं एसिया-ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय दुई दिने सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनी दुबई गएका हुन् । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि विदेश भ्रमणमा जाने निश्चित भएको छ । असार २३ देखि २७ गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने उच्चस्तरीय कार्यक्रममा भाग लिन उनी त्यता जाने कार्यक्रम तय भएको हो । मन्त्री गुरुङलाई जेनेभा जान क्याविनेट बैठकले सहमति दिएको छ । 

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पनि विदेश भ्रमण स्वीकृत भएको छ । असार ९ देखि १३ गतेसम्म थाइल्याण्डमा हुने मन्त्रीस्तरीय सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

यता, असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल-भारत द्दिपक्षीय परामर्श समूहको १६ औँ बैठकमा नेपालका तर्फबाट सहभागी हुने प्रतिमनिधिमण्डल गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ । 

क्याविनेटका पछिल्ला केही निर्णय हेर्ने हो भने विदेश भ्रमण स्वीकृति अनिवार्यजस्तै देखिएको छ । जेठ २६ गते बसेको बैठकले पनि तीनवटा भ्रमण स्वीकृत गरेको थियो ।  

जसअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन जाँदैछन् । असार १० देखि १२ गतेसम्म बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभनर्सको वार्षिक बैठकमा अर्थमन्त्रीको सहभागिता मन्त्रिपरिषद बैठकले सुनिश्चित गरेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक टोली सिजाङ (तिब्बत) पुगेको छ । असार २ देखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल-चीन व्यापार सहजीकरण समितिको तेर्हौं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा भाग लिन मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने निर्णय क्याविनेटले गरेको थियो ।

 

टिप्पणीहरू