इरानमाथि अमेरिकी हमला रोक्न डेढ दर्जन प्राध्यापकको माग

गाजामा भइरहेको नरसंहार र इरानमाथिको अमेरिकी हमला रोक्न नेपालका डेढ दर्जन प्राध्यापकले माग गरेका छन् ।
आज संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति गम्भीर चासो र चिन्ता जनाएका हुन् ।
इजरायल–अमेरिका आक्रमणको सिलसिलाले पश्चिम एशियालाई थप द्वन्द्वमा धकेल्ने निश्चित रहेको निष्कर्ष निकालेका प्राध्यापकहरुले यो स्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । युद्धले खाडी क्षेत्रका देशबाट हुने खनिज तेल, ग्यासको निर्यातमा अवरोध पुग्ने र विश्वभर आर्थिक अनिश्चितता सिर्जना गर्ने सम्भावना बढाइरहेको उनीहरुको ठहर छ ।
प्राध्यापकहरुले इरानको आणविक केन्द्रहरुमा अमेरिकाद्धारा गरिएको भयानक बम वर्षाले इरानको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथि धावा बोलेको पनि बताएका छन् । यसलाई उनीहरुले १९ औँ शताव्दीको आखिरीबाटै अमेरिकाले लिएको साम्राज्यवादी हस्तक्षेप नीतिको निरन्तरताका रुपमा अर्थ्याएका छन् ।
‘ऊ संसारलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ, आफ्ना राजनीतिक आर्थिक तथा साम्राज्यवादी आकांक्षाप्रति असहमत हुने कुनै देशमाथि बर्बर आक्रमण गर्ने, नरसंहार मच्चाउने, सत्ता परिवर्तन गराउने र उक्त देशको स्रोत साधनमाथि नियन्त्रण गर्ने अमेरिकीहरुको परम्परा नै रहिआएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ ।
यसअघि इराक, सिरिया, लिविया, अफगानिस्तान, प्यालेष्टाइन र लेवनानमा अमेरिका र उसको सैन्य आकाँक्षाका सहयात्री तथा इजरायलले गरेका बर्बर आक्रमणले ती देशमा निम्त्याएको सर्वनाश र गाजाको नरसंहार मानव सभ्यताकै कलंकका रुपमा दर्ज रहेको पनि उल्लेख गरिएको छ ।
‘यतिबेला इजरायल आफूले गाजामा गरिरहेको महिला तथा बालबालिकको नरशंहारबाट ध्यान हटाउन इरानमा आक्रमण गरिरहेको छ र अमेरिका उसलाई सहयोग गर्दै आफ्नो खस्कदों विश्व प्रभुत्वलाई टिकाउने प्रयासमा लागेको छ,’ वक्तव्यमा भनिएको छ, ‘हामी अमेरिका–जरायल-नेटो गठबन्धनको यो मानवताविरोधी, साना र कमजोर देशको आत्मनिर्णय र सावैभौमसत्ता निषेध गर्ने हरकतको घोर निन्दा र भर्त्सना गर्दछौँ ।’
प्राध्यापक कृष्ण पोखरेलसहित राम कार्की, रामराज रेग्मी, कोमल भट्टराई, नरेन्द्रजंग पिटर, अशेष घिमिरे, कृष्ण सुनवार, प्रकाश अजात, खगेन्द्र संग्रौला, हरि रोका, झलक सुवेदी, युग पाठक, सोमत घिमिरे, राजेन्द्र महर्जन, उषा तिम्सिना, शिवकुमार पौडेल, गोपिरमण उपाध्याय, कुमार पौडेल र अरविन्द सिंहले संयुक्त वक्तव्य जारी गरेका हुन् ।
टिप्पणीहरू