उपचुनावको तयारी, नाम दर्ता आह्वान
रुपन्देही-३ सहित प्रदेश तथा स्थानीय तहका रिक्त विभिन्न पदमा उपनिर्वाचनको तयारी शुरु भएको छ ।
निर्वाचन आयोगले उपचुनावका लागि आन्तरिक गृहकार्य अघि बढाएको हो । जसअनुसार मतदाता नामावलीमा नाम दर्ता खुलेको छ । आयोगले आज सूचना जारी गर्दै उपचुनाव हुने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकाहरुको हकमा दर्ता खुलाएको हो ।
आयोगका पदाधिकारीहरुले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपचुनावबारे परामर्श गरेका थिए । त्यसक्रममा सरकारको तर्फबाट कात्तिक दोस्रो साताको मिति प्रस्ताव भएको र आयोग त्यसैको तयारीमा जुटेको बताइएको छ ।
उपचुनावको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले नाम दर्ता गर्न छुटेकाहरुलाई तत्काल दर्ता गराउन आयोगले भनेको छ ।
०७९ को आम निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको निधन भएसँगै सो क्षेत्र रिक्त छ । दिपक मनाङे फौजदारी कसूरमा जेल परेसँगै मनाङ क्षेत्र नम्बर १ (२) पनि खालि छ । त्यस्तै, स्थानीय तहमा एक दर्जन पद रिक्तताको अवस्था छ ।
टिप्पणीहरू