एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा
निजामती विधेयकमा रहेको कुलिङ पिरियड हेरफेर प्रकरणमा सत्तारुढ नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।
सांसद पदम गिरीले नैतिकताको आधारमा समिति सभापति र सचिव सुरजकुमार दुराले पद छोड्नुपर्ने बताएका हुन् । आज समितिको बैठकमा बोल्दै उनले भने, ‘जनप्रतिनिधिले यो हदसम्मको काम गर्दछन् भन्नेकुरा कल्पना गर्न पनि नसकिने कुरा हो । माननीय सभापतिज्यू र सचिवज्यूको हस्ताक्षर छ । कसले के भन्यो त्यो तपाईंले जान्ने कुरा हो । समितिले गरेको निर्णय जस्ताका त्यस्तै पठाउने काम र दायित्व सभापति र सचिवज्यूको हो । अरु मन्त्रालयबाट जे आयो त्यसैलाई सही गरेर पठायौँ भन्ने कुरा गैरजिम्मेवार हो । नैतिकताको हिसावले यहाँहरुले यो समितिको नेतृत्व लिन मिल्दैन ।’
महिनौँ लगाएर पारित भएको विधेयकमा जालझेल हुनु संसदप्रतिकै अपमान हो भन्दै गिरीले यो घटना संसदीय इतिहासमै लज्जास्पद भएको बताए । कुनै पनि कर्मचारी सेवा निवृत्त भएपछि वा अवकाश लिएपछि दुई वर्षसम्म कुलिङ पिरियड रहने भनेर समितिले निर्णय गरेको तर समिति सभापति र सचिवले अरु मन्त्रालयहरुले जे ल्याएर दिए त्यसैमा हस्ताक्षर गरेर बुझाएको भन्ने गैरजिम्मेवार तर्क दिन नमिल्ने प्रष्ट पारे ।
‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा समितिले जसरी महिनौँ लगाएर गम्भीरताका साथ छलफल गरेर विशेष गरी कुलिङ पिरियडका सन्दर्भमा कुनैपनि निजामति कर्मचारी सेवा निवृत्त भएपछि वा अवकाश लिएपछि दुई वर्षसम्म कुलिङ पिरियड रहने भनेर यो समितिले एकमतले पारित गरेको हो । यो गरेको कुरा सबैका बीचमा छर्लङ्ग छ’ , गिरीले थपे, ‘बैठकमा एकमले पारित भएको विषय यही समितिको प्रतिवेदनमा माननीय सभापतिज्यु र सचिवज्युले हस्ताक्षर गरेको प्रतिवेदनमा फरक ढंगले प्रस्तुत भयो । सिंगो समितिलाई गुमराहमा राख्ने काम भयो । यो सार्वभौम संसदको यो समितिलाई यस प्रकारले उपहास गरियो मलाई लाग्छ, नेपालको इतिहासमा यो सबैभन्दा लज्जाजनक,घिनलाग्दो अवस्था हो ।’
उनले दोषीलाई कारबाहीको विषय बनाउनुपर्नेमा जोड दिए ।
टिप्पणीहरू