विद्या भण्डारीको सुविधा त्यागसम्बन्धी पत्र गृहमा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलप्ध गराउँदै आएको सेवा सुविधा फिर्ता गर्नुभएको छ ।
नेकपा एमालेको राजनीतिमा फर्किने औपचारिक घोषणा गर्नुभएकी उहाँले आजदेखि लागू हुनेगरी पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सुरक्षाबाहेक अन्य सुविधा त्याग्नुभएको हो । भण्डारीले पठाएको सेवा सुविधा फिर्तासम्बन्धी पत्र गृह मन्त्रालयमा दर्ता भइसकेको बुझिएको छ ।
पत्र कार्यान्वयनको लागि प्रक्रियासमेत अघि बढिसकेको गृह स्रोतले जानकारी दिएको छ । भण्डारीले पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले उपलब्ध गराउने सेवा सुविधा आधामात्र लिँदै आउनुभएको थियो ।
सरकारले निवास र गाडी दिने भए पनि उहाँले नीजि निवास र गाडी प्रयोग गर्दै आउनुभएको थियो । सवारी चालक र स्वकीय सचिवको लागि भने सरकारले मासिक डेढ लाख उपलब्ध गराउँदै आएको थियो । अब उक्त सुविधा पनि नलिने भण्डारीको निर्णय छ ।
बताइएअनुसार भण्डारीले पत्रमा सुरक्षागार्ड समेत नचाहिएको भन्दै फिर्ता बोलाउन आग्रह गर्नुभएको छ । तर, पूर्व राष्ट्रप्रमुखको सुरक्षा प्रोटोकलको लागि दुई जना सुरक्षागार्ड फिर्ता बोलाइने छैन ।
भण्डारीको चाहनाअनुसार अन्य सुविधा भने कटौती गरिने छ ।
टिप्पणीहरू