मन्त्रीकाे चिहान र मन्दिर माेह देखेर सांसदहरू चकित
पर्यटन प्रवर्द्धनको नाममा मठ मन्दिरलाई बजेट विनियोजन नगर्ने सरकारकाे नीति विपरित काेशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफ्नो चुनाव क्षेत्रमा कुस्त पैसा खन्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि उनले ४० वटा चिहान, मठ मन्दिर, गुम्वा बनाउन बजेट बाँडेपछि प्रदेश सभामा हङ्गामा भएकाे छ ।
त्यतिमात्र हाेईन क्षेत्राधिकार भन्दा बाहिर गएर मण्डलले क्याम्पस र गाउँको सौन्दर्यीकरण शीर्षकमा पनि बजेट हालेको पाइएको छ । पर्यटन विकास आयोजना मोरङमार्फत खर्च गर्नेगरी उनले आफ्नो ठाउँ काेशी गाउँपालिकामा मात्र ३० वटा याेजना थुपारेर सबैलाई चकित पारिदिएका छन् ।
कोशी गाउँपालिकाका हरेक टोलमा मन्दिर निर्माणको लागि उसैगरी बजेट खन्याइएको छ । अन्य क्षेत्रलाई बेवास्ता गर्दै मन्त्रीले उक्त पालिकामा ३०, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा १५-१५ र भोक्राहा नरसिंहमा ८ वटा योजना हालेको प्रारम्भिक रूपमा देखिन्छ । यी पालिका मन्त्रीको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् ।
टोलैपिच्छे मन्दिर
कोशी गाउँपालिका अन्तर्गत धेरै योजना छन्, जसमध्ये मण्डल टोलको डिहिबार थान, हनुमानजीको मन्दिर, कब्र स्थानको कमम्पाउण्ड वाल र शिवपार्वती मन्दिर निर्माणमा १०-१० लाख बजेट हालिएको छ ।
शिव दुर्गा पीठ मन्दिरमा ५ लाख, आदी पराशक्ति नाँद धर्म बेलस मठका लागि १० लाख, शिव मन्दिर भाण्टावारी १५ लाख, शिव पार्वती मन्दिर कोसी ५ लाख, भोला टोलको डिहिवारथान निर्माणमा ५ लाख, लोकेश्वरनाथ शिव मन्दिर लोकही बजारलाई २० लाख, अकबर सिद्धिगी कब्र स्थानको घेरा बारा ५ लाख र काली मन्दिर बङ्गाली टोललाई २० लाख बजेट छुट्याईएको छ ।
झडुवा कब्र स्थान कम्पाउन्ड वाल बनाउन ५ लाख, पश्चिम कुशाहाको डिहिवारथान ५ लाख, अर्नाअंकित नहर चोकमा प्रवेशद्वारका लागि १५ लाख, कालिमन्दिर निर्माण तथा घेराबार ११ लाख, कोशी माविमा सरस्वती मन्दिर निर्माण १० लाख बजेटमा व्यवस्था गरिएको छ ।
त्यसैगरी, डिहिबार थान निर्माणमा ५ लाख, इरन टोल इदगाहको कम्पाउन्डवाल निर्माण तथा जमिन ढलानमा १० लाख, खालिल कब्र स्थान घेराबार तथा मर्मत ५ लाख, राइनटोलको कब्र स्थानको कम्पाउन्डवाल तथा गेट निर्माणमा १० लाख, कोशी-५ मा दारुलहोदा मदरसाअगाडि बिश्रामालय निर्माणको लागि ५ लाख पारिएको छ ।
कोशी-२ स्थित विष्णुदेव साहको घर छेउ राम जानकी मन्दिर निर्माणमा ७ लाख, मटुकलाल मुसहर टोलमा दिनाभद्रिनाथ मन्दिरमा ६ लाख, पुरानो श्रीपुर १ काली मन्दिरका लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, मन्त्रीकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिकामा पनि उस्तै योजनालाई प्राथमिकतामा राखेको देखिन्छ । अधुरो राजावास यूथ क्लबको सामुदायिक भवन मर्मत, राम जानकी मन्दिरको घेराबार तथा धर्मशाला निर्माण र उराव टोलको दिनाभद्री मन्दिर बनाउन १०-१० लाख छुट्याईएको छ ।
बराहक्षेत्र-१० स्थित राम जानकी मन्दिरको घेरबार गर्न १० लाख, ११ नम्बर वडामा रहेको हनुमान मन्दिरमा ५ लाख र नेवा देयदवु बराहक्षेत्रलाई भवन निर्माणको लागि भन्दै ७ लाख बाँडेको सकारकारले भर्खरै सार्वजनिक गरेको बजेट किताबमा उल्लेख छ ।
राजावासमा रहेको दुर्गा मन्दिर पुन: निर्माणमा १० लाख, आदिवासी जनजाति भवन स्तरोन्नतिका लागि ७ लाख, शिवालय मन्दिर र धर्मशाला निर्माणमा १० लाख बाँडेका छन् । गुप्त बराह गुफाको धार्मिक पूर्वाधार निर्माणमा ४० लाख, वराहक्षेत्र ३ बिचपानेमा साकेला थान मर्मत र घेराबारमा ५ लाख रकम हालिएको छ ।
योक्रम कोशी भोक्राहा नरसिंहमा पनि उस्तै । २ नम्बर वडास्थित अकाहमा भगवती मन्दिर बनाउन ५ लाख हालिएको छ भने वाहिनी सामुदायिक बनमा पार्क निर्माण भन्दै १० लाख विनियोजन गरिएको छ ।
नेपाली काँग्रेस पार्टीबाट मन्त्री बनेका मण्डलले आफ्नो क्षेत्रमा यसरी मनलाग्दी बजेट हालेर अन्य जिल्लालाई चिल्लै पारिदिएपछि सांसदहरूले झाँकाे झारेका छन् । संसदभित्रै बेइजती खेप्नु परेपछि मन्त्री मण्डलले 'यो पटक यस्तै भयाे माफ दिनुहाेस्, तर मलाई धम्कि चाहिँ नदिनुस् म पनि नेपाली कांग्रेसको भेट्रान मान्छे हुँ' भनेका थिए । जेलनेल खाएर राजनीतिमा आएको भन्दै कसैको धम्कीले नडराउने भनी उनले उल्टै धम्कीसमेत दिए ।
टिप्पणीहरू