वरिष्ठ सइको तलब भुक्तानीका लागि १५ करोड निकासा

वरिष्ठ सइको तलब भुक्तानीका लागि १५ करोड निकासा

नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) को वृद्धि भएको तलब भुक्तानीका लागि सरकारले थप १५ करोड रुपैयाँ निकासा गर्ने भएको छ । सर्वोच्च अदालतको आदेशबमोजिम अर्थ मन्त्रालयको गत असार १६ गते बसेको बैठकले थप १५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै निकासाबारे जानकारी दिएको छ । 

चार वर्षअगाडि सरकारले नयाँ पद सिर्जनासँगै प्रहरी कर्मचारीको ग्रेड वृद्धि गरेको थियो । तर, पदअनुसार तलब पाउन नसकेपछि वरिष्ठ सइहरु सर्वोच्च पुगेका थिए । सइबाट वरिष्ठ सइमा बढुवा भएका सबै सुरक्षाकर्मीलाई बढुवा भएको दिनदेखि हिसाब गरेर पाँच ग्रेड वृद्धि गरी तलब उपलब्ध गराउन सर्वोच्चले सरकारको नाममा आदेश दिएको थियो । 

गत वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गर्यो । सोअनुसार बजेट निकासाका लागि गृहले लेखेर पठाएकोमा अर्थले रोकेर राखेको थियो । अर्थले बल्लतल्ल बजेट निकासा गर्ने निर्णय गरेको हो । 

अस्ति प्रहरी मुख्यालयलाई पठाइएको पत्रमा भनिएको छ,‘अर्थ मन्त्रालयको च.नं.९०२ मिति २०८२–३–१६ को पत्रबाट नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षकको तलब र ग्रेड समायोजन गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल सरकार (म.प) बाट मिति २०८२–१–३१ मा भएको निर्णयानुसार प्रहरी वरिष्ठ नायव निरीक्षकको हालको दुई ग्रेडसमेत अधिकतम पाँच ग्रेड कायम हुने र सोबमोजिम तलब तथा ग्रेड भुक्तानी गर्न रु.१५ करोड थप बजेट निकासा दिने मिति २०८२–३–१६ को निर्णयानुसार अनुरोध छ ।’

टिप्पणीहरू