उताकाे स्टेडियम देखेर दङ्ग, यताको सम्झेर झसङ्ग !

उताकाे स्टेडियम देखेर दङ्ग, यताको सम्झेर झसङ्ग !

स्पेन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व चर्चित फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ स्टेडियम अवलोकन गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डललाई क्लबका निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्टेडियममा स्वागत गरे । अत्याधुनिक स्टेडियमको अवलोकनपश्चात प्रमले निर्देशक मिगेलसँग क्लब र स्टेडियम व्यवस्थापनको बारेमा विभिन्न जिज्ञासा राख्नुभएको बताइएको छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीलाई उहाँकै नाम अंकित टिसर्ट उपहारसमेत दिइयो । स्टेडियम हेर्न जाने नेपाली टोलीमा प्रथम महिला राधिका शाक्य, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव मदन राईलगायत थिए । 

प्रधानमन्त्रीले स्पेनमा फुटबलको भव्य स्टेडियम अवलोकन गरिरहँदा यता कतिपयले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको सम्झना गरेका छन् । गत वर्ष असारमा चौंथो पटक प्रधानमन्त्री हुनुभएका ओलीले सपथ ग्रहणलगत्तै तीन सय दिनभित्र किक्रेट मैदानको स्तरोन्नती गरिसक्ने घोषणा गर्नुभएको थियो । 

तर, एक वर्ष पुग्दासमेत प्याराफिट निर्माण र फ्लडलाइट जाडनको काम सकिएको छैन । क्रिकेट मैदान स्तरोन्नतीको काम पूरा हुन अझै केही समय लाग्ने देखिन्छ ।

टिप्पणीहरू