एमालेमा कित्ताकाट, बाहिर एकता

एमालेमा कित्ताकाट, बाहिर एकता

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गरेसँगै एमालेभित्र कित्ताकाट सुरु भएको छ । सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी अनुकूलका विधानका कट–फुटेज, स्टाटस, प्रचार गर्नुले एमालेको आगामी महाधिवेशनमा चर्काचर्की हुने धेरैको अनुमान छ ।

एकथरीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व भण्डारीले गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा ‘अध्यक्षमा विद्या, महासचिवमा पिएस’ नामक ह्यासट्याग क्याम्पेन नै चलाएका छन् । अर्काथरीले ओली नै निर्विल्कप रहेको दावी गरिरहेका छन् । केही नेताले ओली र भण्डारीबीच समझदारीपूर्ण र मित्रवत् प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

पार्टीभित्रको ध्रुवीकरण सतहमा आइरहेको बेला एमालेको भविष्य र मुलुकमा स्थिर राजनीतिको लागि ओली र भण्डारीमध्ये कसको नेतृत्व उपयुक्त होला ? राजनीतिशास्त्रका विद्यार्थी, प्राध्यापकदेखि विश्लेषकहरुमा समेत चर्चा हुन थालेको छ । 

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट पोलिटिकल्स साइन्समा विद्यावारिधी गरिरहेका सौरभ अधिकारीका अनुसार पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व सम्हालेमा मुलुकको राजनीतिले ‘नयाँ कोर्ष’ पाउन सक्छ । ‘नेपालको राजनीतिमा गठबन्धन बनाउने र भत्काउने प्रवृत्ति संस्थागतजस्तै भइसक्यो, राजनीतिको आधारभूत सिद्धान्तले गठबन्धनलाई निषेधित गरेको त छैन, तर हाम्रो मुलुकको परिस्थिति अनुसार बढी नै भइसक्यो’, उनी भन्छन्, ‘एमाले ठूलो कम्युनिष्ट दल हो, त्यसकारण पनि यसको नेतृत्वले ठूलो अर्थ राख्छ, अहिलेकै नेतृत्व (ओली) रहने हो भने हामीले अपेक्षा गरेको स्थिर सरकारको कल्पना गर्न सकिदैँन, उहाँ (भण्डारी)को नेतृत्वले चाहिँ त्यो सम्भावनाका केही ढोका खोल्न सक्छ ।’

राजनीतिशास्त्रका प्राध्यापक डा. रामकृष्ण तिवारी राजनीतिको सैद्धान्तिक मूल्य मान्यतालाई राजनीतिक दलहरुमा लागु भएको देख्न भण्डारीको पुनरागमनले ठूलो सहयोग पुग्ने बताउँछन् । ‘हामीले राजनीति यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर जे सिकाउँछौ, जे पढाउँछौ, अहिले पुस्तकमा मात्र सीमित भयो’, उनी सुनाउँछन्, ‘हामीले उहाँ (भण्डारी)को जुन आदर्श देखेका छौँ, त्यसले पार्टीलाई मात्रै होइन, अन्य राजनीतिक दललाई समेत सुदृढीकरणको अवसर दिन सक्छ ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल पूर्वराष्ट्रपति भण्डारीले एमाले नेतृत्व सम्हालेमा वाम एकताको ठूलो सम्भावना देख्छन् । तर नेतृत्वमा ओली रहुञ्जेलसम्म त्यो सम्भावना नरहेको उनको विश्लेषण छ । ‘हामीले हिजोका दिनहरुमा देखेकै हौ, माधव नेपालहरुलाई अर्कै बाटो तय गर्न बाध्य बनाइयो, भीम रावलहरुलाई गलत्याएर निकालियो, वामदेवहरुलाई घर न घाटको बनाइयो, नेकपाकालमा खुलेयाम असंवैधानिक अभ्यास भयो’, उनले भने, ‘यी प्रवृत्ति हेर्दा एउटा पार्टीभित्रको आन्तरिक घटना भए पनि वाम एकताको लागि ठूलो बाधा खडा गर्ने अभ्यास थिए, पूर्वराष्ट्रपति जुन राजनीतिक दर्शनबाट आउनुभएको छ, त्यसले पूर्णविराम लागिसकेको वाम एकताको ढोका फेरि खोल्न सक्छ ।’

एमालेको नेतृत्वमा पुगेर पूर्वराष्ट्रपति भण्डारीले साना ठूला कम्युनिष्ट दलहरुलाई एकैठाउँमा ल्याउन सके नेपाली राजनीतिमा ऐतिहासिक ‘मुभमेन्ट’ हुने पोखरेलको विश्लेषण छ । ‘पूर्वराष्ट्रपति वा पूर्व उपराष्ट्रपति राजनीतिमा फर्किन हुन्छ कि हुँदैन भन्ने बहस अब अर्थहीन भइसक्यो’, उनले भने, ‘संक्षेपमा यत्ति बुझांै कि, उपराष्ट्रपतिको कारण माओवादीलाई आन्तरिक शक्ति सन्तुलन मिलाउन सहज होला, तर पूर्वराष्ट्रपतिको हकमा वाम एकता हुनसक्छ कि भन्ने आशा गर्न सकिन्छ ।’

टिप्पणीहरू