नक्कली कागजात बटुलेका प्राधिकरण अध्यक्ष निलम्बित
सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नियुक्तिको क्रममा पेश गरेका कागजात छानबिन गर्न कमिटी गठन गरेको छ । प्राधिकरण ऐनबमोजिम कमिटी गठनलगत्तै उनी निलम्बनमा परेका छन् ।
आज अबेर बसेको क्याबिनेट बैठकले पूर्व न्यायाधीश कृष्ण गिरीको नेतृत्वमा छानबिन कमिटी गठन गरेको हो । समिति सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् । तीन महिनाभित्र कमिटीले छानबिन प्रतिवेदन बुझाउनुपर्ने छ ।
वर्तमान सरकारले बिचौलिया दीपक भट्टको रोडम्यापअनुसार ओझालाई गत फागुन १२ गते अध्यक्षमा नियुक्त गरेको थियो । उनले तोकिएको अनुभवका सबै कागजपत्र नक्कली बनाएर पेश गरे पनि अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सक्कली ठहर्याएको थियो ।
विभिन्न मिडिया हाउस, उद्योग वाणिज्य महासंघ, बिचौलिया दीपक भट्टको हतियार खरिद गर्ने एउटा कम्पनीको व्यवस्थापन तहमा काम गरेको नक्कली कागजात बनाएर पेश गरिएको थियो । ती संस्थामा ओझाले आफू अमेरिका अध्ययन गर्न जान लागेकाले अनुभवको कागजात बनाइदिन अनुरोध गरेको भनिएको छ । तर, उनले गर्दै नगरेको काम र पदको अनुभवको कागजात बनाइदिएका संस्थाहरु पनि छानबिनको दायरामा तानिने अवस्था उत्पन्न भएको छ ।
ओझा करिब चार महिना १५ दिनमा पदमुक्त भएका छन् । समितिको छानबिन अघि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा अनुसन्धान भइरहेको छ । ओझाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
टिप्पणीहरू