क्याबिनेट हेरफेर हुने सञ्चारमन्त्रीको संकेत

क्याबिनेट हेरफेर हुने सञ्चारमन्त्रीको संकेत

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल पुनर्गठन एक सामान्य प्रक्रिया भएकाले अचम्म नमान्न आग्रह गरेका छन् । 

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले क्याबिनेट हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको बताए । स्पेन भ्रमणपछि मन्त्रिपरिषद पुनर्गठनको समाचार सञ्चार माध्यममा आएको थियो नि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले भने, ‘मन्त्रिमण्डल गठन, पुनःगठन हुने कुरा ठूला कुरा छैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो ।’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई एक वर्षको कार्यकाल हेरेर थपघट गर्नेबारे शपथकै बेला जानकारी गराएको मन्त्री गुरुङले दाबी गरे । एक वर्ष उत्तारचढाव नभइ बिताएको उनले स्पष्ट पारे । 

‘हामी अहिले समीकरणमा छौँ । गठबन्धनमा सहमति भयो भने....सामान्यतः एक वर्षभित्र मन्त्रीहरुलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो । १ वर्षको हो है भन्नुभएको थियो । त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो । एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्याण्डिङ गरेका छौँ’, मन्त्री गुरुङले भने  ।

सरकारको एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको जिकिर गर्दै उनले अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको बताए । 

‘सरकारले १२ महिनाको काम राम्रोसँग गरेको छ । हाम्रो अर्थतन्त्र हामी सरकारमा जाँदा जे हालतमा थियो, मुलुक फेल हुनसक्छ भन्ने स्थिति थियो आज सबै कुरा पोजेटिभ भएको छ । यद्यपि हामीले चाहेको अझै भएको छैन’, मन्त्रीले अगाडि भने, ‘आयात घट्न थालेको छ । निर्यात बढ्न थालेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसावले पनि धेरै राम्रो भएको छ । लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ । अब कति स्पिडमा जाने भन्ने हो ।’

टिप्पणीहरू