पार्किङको चक्करमा भरतपुर
भरतपुरमा सडक त चकाचक बनाइएको छ, तर पार्किङको उचित व्यवस्थापन नहुँदा अझै समस्या छ । नारायणगढ बजारको पुलचोकदेखि गोन्द्राङसम्म सिक्सलेन बनाइएको सडकसमेत पार्किङको चपेटामा परेको छ । छ लेनको सडक बनेदेखि नै दुवैतिर सर्भिसलेनमा भद्रगोल हुँदै आएकोमा अहिले केही दिन देखिचाहिँ एकतर्फी मात्रै पार्किङ गर्न दिइएको छ । दुवैतर्फका सर्भिसलेनमा पसलपट्टि एक–एकतिर मात्रै छेउमा पार्किङ मिलाइएपछि बाटो अलि व्यवस्थित भएको छ ।
रोडमा मोटरसाईकल र कारसम्म अट्ने साइजमा चिन्हसमेत कोरेर त्यसभित्र मात्रै पार्किङका लागि मार्किङ गरेर सवारी साधन राख्न दिइएपछि सर्भिसलेनमा वान-वे सवारी सञ्चालनमा समेत सहज भएको बताइन्छ ।
गत असार २८ गते माइकिङ नै गरेर महानगरपालिकाले सर्भिसलेनमा पार्किङ नगर्न सूचना गरेपछि यहाँका व्यापारी व्यवसायीहरु आत्तिए । उद्योग वाणिज्य संघले मिटिङ नै बोलायो । व्यवसायीहरुको अनुरोधमा अर्काे व्यवस्था नभएसम्मका लागि तत्काल सर्भिसलेनमा एकतर्फीमात्रै पार्किङ गर्न दिइएको महानगर प्रहरी प्रमुख डिएसपी कृष्णहरि ढकालले बताए ।
महानगर प्रहरी, ट्राफिक प्रहरी र उवासंघ चितवनका प्रतिनिधिसमेत भएर सर्भिसलेनमा दुवैतर्फ जभाभाबी गरिँदै आएको पार्किङ हटाएर एक लहरमा मात्रै सवारी साधन राख्न मार्किङ गरिएको हो ।
यो एकतर्फी पार्किङ पनि अहिले तत्कालको व्यवस्था हो, अर्काे विकल्प हुनासाथ सर्भिसलेन पूरै खालि गराइने महानगरको यातायात व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले बताए । सडक पेटीमा बार लगाइयो भने सडकक्षेत्र अझ व्यवस्थित हुने कुरा पनि आएको छ ।
दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि अहिले नारायणगढ बजारलाई लक्षित गरी लायन्सचोक र पुलचोकमा व्यविस्थत पार्किङस्थल बनाइँदैछ । लायन्सचोकको सब्जीमन्डी नजिक महानगरपालिकाले नै बहुउद्देश्यीय व्यापारिक भवन बनाउने भनेको खालि जग्गा अहिले बिल्डिङको टेन्डरसमेत भइनसकेको अवस्थामा पार्किङका लागि उपलब्ध गराइएको छ । यहाँ फाट्टफुट्ट रुपमा पार्किङ हुन थालेको पनि छ ।
पुलचोकमा नारायणी नदी किनारको खालि जग्गा पार्किङका लागि उपयोग गर्न खोजिएको हो । वडा प्रहरी कार्यालय नारायणगढ जाने बाटो छेउको सार्वजनिक जग्गामा झाडी फाँडेर सरसफाइ गरी पार्किङ स्थल बनाउन हिजो महानगर प्रहरी प्रमुख आफैं जेसिबीसहित खटिएका थिए । आज पनि सम्याउने काम भइरहेको उनले बताए । अबको एकसाता भित्रै यहाँ पार्किङ सञ्चालन हुने उनले जनाए ।
अस्ति महानगरको पार्किङ व्यवस्थापन समितिको बैठक बसेर अन्यत्र पनि पार्किङका लागि जग्गा जोहो गर्न लागिएको जनाइएको छ । ‘हामीले अन्य ठाउँहरु पनि पहिचान गरेका छौं’, भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले भने, ‘हामीसँग सार्वजनिक जग्गा त्यति छैन । संस्थागत रुपमा रहेका जग्गाको लागि चौबीसकोठीमा वाणिज्य बैंकसँग कुरा गर्नेछौं ।’ बैंकको मातहतमा भएको झाडी रहेको आठ कठ्ठा जग्गालाई बैंकसँग समन्वय गरेर पार्किङको प्रयोगमा ल्याउन कुराकानी गरिने जानकारी उनले दिए ।
अर्काे, जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि मालपोत कार्यालयको स्वामित्वमा रहेको जमिनलाई पनि मालपोत कार्यालयसँग समन्वय गरेर पार्किङको लागि उपयोग गर्ने कुरा भएको उपमेयर चित्रसेनले बताए । जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्ट हाउसचौरको पनि केही भाग पार्किङ प्रयोजनमा ल्याउन उपयुक्त देखिएको बताइएको छ । पार्किङ व्यवस्थापन समितिका संयोजक समेत रहेका उपप्रमुख अधिकारीले वीरेन्द्र क्याम्पस चोकमा पनि पार्किङका लागि जग्गा उपलब्ध गराउन क्याम्पससँग अनुरोध गरिने बताएका छन् ।
यस्तै, बालकुमारी कलेजको खेलमैदान रहेको क्याम्पाचौरको जग्गामा पनि केही भागमा पार्किङका लागि सोच बनाइएको छ । ‘उहाँहरु स्वयम्ले पार्किङ स्थल बनाएर शुल्क लिए नि भो’, उनले भने ।
अहिले तत्काल लायन्सचोक र पुलचोकमा नागरिकलाई बानी पार्नको लागि शुल्क नलिई पार्किङ गर्न दिइँदैछ । काठमाडौं, पोखरा, विराटनगर, वीरगन्ज, हेटौंडा, बुटवल लगायतका शहरमा पार्किङको शुल्क के कति छ, त्यो अनुसार पछि शुल्क निर्धारण गर्ने भनिएको छ । महानगरको जुन जुन वडामा पार्किङ व्यवस्थापन आवश्यक छ, ती वडाअध्यक्षहरुसहित अस्ति छलफल भएको थियो ।
‘बेसमेन्टको लागि नक्सा पास गरेका घरहरु के–कति छन्, नक्सा शाखालाई त्यसको रिपोर्ट मागेका छौं । जुन प्रयोजनका लागि बेसमेन्ट गरेर घरहरु निर्माण गर्नुभएको छ । बेसमेन्टलाई पार्किङकै प्रयोगमा लगाउन ती घर धनीहरुलाई चिठी पठाउँदैछौं’, उपमेयरीले भने । अहिले बेसमेन्टहरुमा समेत व्यापारव्यवसाय सञ्चालन भइरहेको भन्ने सूचना आएको उनले बताए ।
‘बैंक, हस्पिटल लगायत विभिन्न सरकारी कार्यालयहरुले पनि सेवाग्राहीको पार्किङ व्यवस्थापन आफैंले गर्नुपर्यो, सडकमा राखेर भएन । आफ्ना सेवाग्राहीहरुको भेहिकलको पार्किङ व्यवस्थापन संस्था स्वयम्ले गर्नु हुन भनी सूचना जारी गरेर पत्र पठाउने कुरा पनि भा’छ’, उनले भने ।
भरतपुर महानगरपालिकाले नारायणगढ र कोर सिटीमा रहेका केही व्यक्तिगत निजी जग्गा पनि पार्किङमा लगाउन खोजेको छ । पार्किङ व्यवस्थापनको लागि महानगरलाई आवश्यक परेको हुँदा निवेदन दिनुहोला भनेपछि तीन जनाको निवेदनसमेत आएको महानगरपालिकाले बतायो । ती तीन व्यक्तिको करिब एक बिघा जमिन देखिन्छ । त्यसमा पार्किङ व्यवस्थापनको लागि अनुमति दिने र कुरा मिल्यो भने महानगरपालिकाले नै सम्झौता गरेर पार्किङ व्यवस्थापन गर्ने कुरा छ।
'अन्य व्यक्तिहरुले समेत जग्गा उपलब्ध गराउने वा स्वयम् व्यक्तिले नै पार्किङको लागि अनुमति लिने हो भने पनि फेरि आजभोलिमा सूचना जाने छ’, कार्यबाहक नगरप्रमुखले हिजो जनआस्थासँग भने ।
अहिले पार्किङ व्यवस्थापन सँगै मुख्य–मुख्य चोकहरुमा पिक एण्ड ड्रपको लागि ठाउँ खालि राख्ने काम पनि भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्मा भन्छन्, ‘छोटो दूरी छ भने हिँडेर जाने बानी बसालौं ।’ साना सवारी साधनको संख्या धेरै भएको र जोखिमपूर्ण पनि रहेको भन्दै ठूला र सार्वजनिक सवारी साधन सञ्चालनमा जोड दिइनुपर्ने ट्राफिक प्रहरी निरीक्षक बताउँछन् ।
टिप्पणीहरू