पर्सि दिल्ली जाने टोली तयार,बालुवाटारमा रातारात बैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी एकै समय तीन वटै सुरक्षा निकायका एआईजी र विभिन्न मन्त्रालयका सचिवहरुको टोली पुग्यो । उनीहरु सबै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा सहभागी हुन त्यहाँ गएका थिए ।
गृहमन्त्री रमेश लेखक,गृहसचिव गोकर्णमणि दुवाडीको उपस्थितिमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न एआइजी र सहसचिवहरु बालुवाटार गएका हुन् । आगामी मंगलबारदेखि नयाँ दिल्लीमा दुई मुलुकबीच गृहसचिवस्तरीय वार्ता हुँदै छ । सोही वार्तामा सहभागी हुने टोलीका सदस्यहरुले प्रधानमन्त्रीसँग राति ७ बजेपछि ११ सम्म भेट गरेको बताइन्छ ।
साउन ६ र ७ गते हुने बैठकका लागि टोली पर्सि काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ । सन् २०१६ देखि अवरुद्ध उक्त बैठकमा सहभागी हुन गृहसचिवको नेतृत्वमा जम्बो टोली त्यता जान लागेको हो ।
टोलीमा नेपाल प्रहरीबाट एआइजी दानबहादुर कार्की,सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशी सहभागी हुने छन् । त्यस्तै परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव,अध्यागमन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारी पनि नयाँ दिल्ली जाँदैछन् ।
साढे ७ बजेका लागि बोलाइए पनि प्रधानमन्त्रीले टोलीसँग ८ बजेपछि कुराकानी थाल्नुभएको थियो । तिवारीले सीमा,अपराध,प्रहरी र सशस्त्रलाई सहयोग, सीमा सुरक्षा, सीमावर्ती जिल्लाका समकमक्षी सुरक्षा प्रमुखहरुसँगको बैठकलगायत यसअघि नै सहमति भइसकेका ‘एग्रिड एजेण्डा’ प्रस्तुत गरेपछि प्रधानमन्त्रीले निर्देशन दिनुभएको बुझिएको छ ।
टिप्पणीहरू