चितवनमा 'खोज र नष्ट गर' अभियान चलाइँदै
चितवनमा अघिल्लो वर्ष साउन १ गतेदेखि गत असारसम्म तीन हजार ८८९ जनालाई डेंगी लागेको तथ्यांक आएको छ । तीमध्ये तीन हजार २० (पुरुष–१५४८, महिला–१४७२) जिल्लाभित्रका र अन्य जिल्लाबाट आइ बसोबास गर्ने ८६९ (पुरुष–४१२, महिला ४५७) जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
तथ्यांकअनुसार भरतपुरमा ११ सय ७१, खैरहनीमा २२३, माडीमा ३७, रत्ननगरमा ९०७, राप्तीमा १२४, कालिकामा ९१ र इच्छाकामनामा ४६७ जनामा डेंगी संक्रमण भएको पाइएको छ । संक्रमणबाट भरतपुरवासी एकजनाको मृत्युसमेत भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा डेंगीका बिरामी बढ्न थालेपछि कार्यालयले लामखुट्टे मार्ने अभियान चलाएको छ।
एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणका लागि 'सर्च एण्ड डिस्ट्रोय' अभियान प्रभावकारी मानिन्छ । हालै इच्छाकामनाको मुग्लिङ बजारमा अभियानअन्तर्गत एक कार्यक्रम गरिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । जिल्ला जनस्वास्थ्य समन्वय समिति बैठकले अन्य पालिकाहरुलाई पनि डेंगी नियन्त्रणका लागि अभिमुखीकरण र ‘खोज तथा नष्ट’ अभियान सञ्चालन गर्न अनुरोध गरिएको उनले बताए ।
एडिज लामखुट्टेले डेंगीसँगै चिकुनगुनिया, जिका र पहेँलो ज्वरो जस्ता अन्य भाइरल रोगहरु पनि सार्दछ । अधिकांश अवस्थामा डेंगीका सामान्य लक्षणमात्र देखिन्छन् । तर, करिब पाँच प्रतिशत संक्रमतिहरुमा जटिल प्रकृतिका लक्षणहरु देखा पर्न सक्छन्, जसको समयमै पहिचान र व्यवस्थापन नगरेमा ज्यानसमेत जोखिममा पर्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
एडिज लामखुट्टे प्रायः घरभित्रका अँध्यारो र चिसो स्थानहरु–जस्तै ओछ्यानमुनि, पर्दा पछाडि, दराजको कुना वा बाथरुममा लुकेर रहने गर्छन् । घरबाहिर पनि चिसो र छायाँयुक्त स्थानहरुमा बस्छ । यसले जमेको सफा पानीमा अण्डा पार्ने र वृद्धिविकास गर्ने गर्दछ । थोरै पानी केवल पाँच मिलिलिटर (बोतलको बिर्काे बराबर) जमेको पानी पनि प्रजनन्का लागि पर्याप्त हुने जनस्वास्थ विज्ञहरु बताउँछन् ।
ठूलो ट्यांकीदेखि साना कन्टेनर र बट्टाबट्टीहरु लामखुट्टेको फैलावट र प्रकोपका सम्भावित केन्द्रविन्दु (हटस्पट) बन्न सक्छ । सुक्खा अवस्थामा पनि अण्डा महिनौंसम्म बाँच्ने र पानी प्राप्त गरेपछि जीवनचक्र पुनः सुचारु हुन्छ । डेंगु सार्ने लामखुट्टे बिहान र बेलुका बढी सक्रिय हुन्छन् र दिनमा टोक्छन् । यिनीहरु छरितो र छिटो उड्ने स्वभावका कारण टोकाइबाट बच्न गाह्रो हुन्छ ।
त्यसैकारण लामखुट्टेको बासस्थान (प्रजनन् स्थल) नष्ट गरी लामखुट्टे हुर्कनै नदिनु नै सबैभन्दा प्रभावकारी सुरक्षाको उपाय मानिएको हो । डेंगी सार्ने लामखुट्टेको जीवनचक्रको अधिकांश समय पानीमै बित्छ । त्यसैले पानी जम्मा हुने सबै ठाउँहरु हटाउन सकेमा वृद्धि र प्रजनन्लाई प्रभावकारी रुपमा रोक्न सकिन्छ । लामखुट्टेको अण्डा सात देखि १० दिनभित्रै वयस्क बन्न सक्ने बताइन्छ । त्यसैले पानी जम्मा हुने भाँडाहरु कम्तीमा हरेक सात दिनमा खाली गर्ने, राम्ररी माझ्ने वा पानी परिवर्तन गर्नु आवश्यक हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
घरभित्र वा वरपरका जुनसुकै स्थान, पानी जम्न सक्ने भाँडाहरु– प्लास्टिक, फूलदानी, ट्यांकी, टायर, जुत्ता, क्यान, रित्तो बोतल, फुटेका सिसा वा प्लाष्टिकका सामग्री, प्रयोगमा नरहेका भाँडा, डिब्बा, प्लेट र ट्रेहरु, दियो, कलश फूलदानीको मुनि राखिने पानी संकलन हुने प्लेटहरु आदि लामखुट्टेको प्रजनन्स्थल बन्न सक्छन् । डेंगी सार्ने एडिज लामखुट्टेले प्रायः फोहोर पानी भएका नाली तथा ढलहरुमा प्रजनन् गर्न रुचाउँदैनन् तर यस्ता स्थानहरु भने औलो, हात्तीपाइले जस्ता अन्य रोगहरु सार्ने लामखुट्टेका लागि उपयुक्त हुन्छन् । यो लामखुट्टेले केरा, सुपारीजस्ता बोटका पातको काप, रुखको खोच, टोड्को वा गहिरो भागमा जमेको पानी, फालिएका नरिवलका खोल, फुटेका अण्डाका बोक्रा, खर्बुजाको बोक्रा आदिमा संकलन भएको पानीमा पनि फूल पार्ने गर्दछन् ।
डेंगीका लक्षणहरु सामान्यतया २ देखि ७ दिनसम्म देखिन्छ । एक्कासि उच्च ज्वरो आउनु (ज्वरो ५ देखि ६ दिनसम्म रहन सक्छ), शरीरमा रातो बिमिराहरु देखा पर्नु, बान्ता हुनु, वाकवाकी आउनु, हाडजोर्नी र मांसपेशीहरु बेसरी दुख्नु, आँखाको गेडी दुख्नु डेंगी रोगका लक्षण हुन् । जोर्नीमा धेरै पीडा गराउने भएकाले यसलाई ‘हड्डी भाँचिने ज्वरो’ (ब्रेक–बोन फिभर) पनि भनिन्छ । संक्रमित भएपनि ४० देखि ८० प्रतिशत मानिसहरुलाई डेंगीको लक्षण नदेखिन सक्छ । लक्षण भएका र नभएका दुवै व्यक्तिले लामखुट्टेमार्फत् डेेंगी सार्ने सम्भावना हुनेचाहिँ देखिएको छ ।
नेपालमा उपलब्ध परीक्षण विधिमध्ये द्रुत परीक्षण किट (आरडीटी) मार्फत् गरिने विधि सबैभन्दा प्रचलित, छिटो र सुलभ मानिन्छ । यसबाहेक कतिपय स्वास्थ्य संस्थामा प्रयोगशालामा रगतको जाँच गरेर समेत डेंगी निदान गर्न सकिन्छ । डेंगीको घरेलु उपचार पनि छ– ज्वरो घटाउनको लागि र जीउ दुखेको कम गर्न प्यारासिटामोल सेवन गर्ने तर चिकित्सकको सल्लाह विना एन्टिबायोटिक नलिने, खतराका चिन्हहरु नियमित रुपमा अनुगमन गर्ने, पर्याप्त आराम गर्ने, झोलिलो र पोषिलो पदार्थ सेवन गर्ने ।
तर, खतराका चिन्ह देखिएमा तुरुन्त अस्पताल जानुपर्ने स्वास्थ्यकर्मी सुझाउँछन् । संक्रमित व्यक्ति शिशु, वृद्ध गर्भवती, रगत बग्ने समस्या वा अन्य दीर्घ रोग भएकाहरू उच्च जोखिम समूहमा पर्दछन् । गिजा, नाक वा अन्य भागबाट असामान्य रुपमा रगत निस्कने, अत्यधिक थकान वा छटपटी महसुस हुने, बान्तामा रगत देखिने, सास फेर्न गाह्रोे वा छिटो सास फेर्ने, अत्यधिक पेट दुख्ने, बारम्बार बान्ता हुने खतराका संकेत हुन् । यी चेतावनी चिन्हहरु प्रायः ज्वरो घटेको २४ देखि ४८ घण्टापछाडि देखिने गर्छ ।
यस्ता लक्षणहरु गम्भीर डेंगीका संकेत हुन सक्छन्, जसमा प्लाज्मा नामक रगतको तरल पदार्थ रक्तनलीबाट बाहिर चुहिने अवस्था उत्पन्न हुन सक्छ । यसले गर्दा बिरामी अचेत पनि हुन सक्छ । पेट र छातीमा पानी जम्न सक्छ । सास फेर्न गाह्रो हुने स्थिति आउन सक्छ, उच्च रक्तस्राव हुन सक्छ र भित्री अगंहरुमा गम्भीर क्षति पुग्न सक्छ भनी स्वास्थ्य निकायहरुबाट सचेत गराइँदै आएको छ ।
एक वर्ष मुनिका शिशु, गर्भवती महिला, वृद्ध व्यक्तिहरु, अधिक तौल वा मोटोपन भएको व्यक्ति, रगत सम्बन्धी समस्या भएका व्यक्ति र अन्य दीर्घरोग (जस्तै मधुमेह, मुटु वा मृर्गौला रोग) भएका व्यक्तिहरुमा डेंगी संक्रमण भएमा विशेष सावधानी अपनाउनु अत्यावश्यक मानिएको छ ।
सुरक्षाका लागि लामखुट्टेको टोकाइबाट बच्न सकेसम्म पूरै शरीर ढाक्ने, लामो बाहुला भएका लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टेलाई मन नपर्ने गन्ध भएको मलम (रिपेलेन्ट) प्रयोग गर्ने गर्न सकिन्छ । घरभित्र लामखुट्टे प्रवेश गर्न नदिन ढोका र झ्यालहरुमा सानो प्वाल भएको जाली प्रयोग गर्नुपर्छ । बिहान, दिउँसो वा राति जुनसुकै बेला सुत्दा अनिवार्य झूलको प्रयोग गर्नुपर्छ भनी विज्ञ सुझाउँछन् ।
छानाको पानी निकास हुने नाला, समथर छत र ढलहरुमा पानी जम्न नदिन दिनुहुँदैन । लगभग वैशाखदेखि कार्तिकसम्म लामखुट्टेको सिजन हो । एडिज लामखुट्टेको फैलावटको लागि भदौदेखि कात्तिकसम्म अझ उपयुक्त समय मानिएको छ ।
'खोज तथा नष्ट विधि' भनेको लामखुट्टेको प्रजनन् र वृद्धिविकास हुने पानी जम्मा भएका सम्भावित स्थान वा वस्तुहरु खोजी गरी तिनीहरु नष्ट गर्ने प्रक्रिया हो । पानी जम्मा भएको भाँडाकुँडाहरुमा लामखुट्टेका लार्भा/प्युपा देखिएमा, उक्त पानी फ्याँकेर लार्भा÷प्युपा नष्ट गर्नुका साथै भाँडाकुँडाहरुलाई राम्रोसँग सफा गरी घोप्ट्याएर राख्नुपर्दछ ।
‘अण्डा देखिन गाह्रो भएपनि लार्भा र प्युपा देखिन्छ’, जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षकले भने, ‘त्यस्तो पानी सुक्खा ठाउँमा खन्याएर नष्ट गरिन्छ ।’
टिप्पणीहरू