नेपालको विकासबारे अमेरिकामा निकास
नेपालमा स्थानीय सरकार र विकास मोडलबारे अमेरिकामा गोष्ठी गरिएको छ । राजधानी वासिङ्टन डिसीनजिक फेयरफ्याक्स भर्जिनियामामा हालै उक्त गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा चितवनको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यता रह्यो । उनले अमेरिकामा जस्तै कालिकामा पनि सडक नामाकरण र घर नम्बर प्रणाली जडान कार्य थालिएको जानकारी गराए ।
स्मार्ट ठेगाना प्रणाली योजना मात्र नभई भविष्यको परिकल्पना भएको जनाउँदै मेयर रेग्मीले भने, ‘यो अभियानलाई स्मार्ट प्रशासन,सुशासन र पारदर्शीतामा रुपान्तरण गर्ने हाम्रो दीर्घकालीन दृष्टिकोण छ ।’
उनका अनुसार जीपीएस प्रणालीमार्फत नगरको नक्साङ्कन,सडक रेखाङ्कन र नामाकरण, मुख्य चोकमा दिशा निर्देश बोर्ड जडान, घरहरुमा नामाङ्कन (नम्बरिङ) लगायत काम थालिएको छ ।
स्थानीय सरकारको भूमिका अब सीमित पूर्वाधार निर्माणमा मात्र नरहेर प्रविधि, नवप्रवर्तन र डिजिटल पहुँचलाई प्राथमिकतामा राख्दै नागरिकसँगको सम्बन्ध अझ मजबुत बनाउनेतर्फ अघि बढिरहेको नगर प्रमुख रेग्मीले बताए ।
उनले अमेरिकामा बसोबास गर्ने नेपालीलाई आफ्नो ज्ञान, अनुभव र सीपमार्फत देश विकासमा योगदान पुर्याउन पनि आह्वान गरे । ‘नेपालमा तपाईंहरुले बजेट लगानी होइन, तपाईंहरुको ज्ञान र सीप आवश्यक छ,’ रेग्मीले भने ।
कार्यक्रममा एनआरएनए एनसीसी युएसए भिए च्याप्टर अध्यक्ष विशाल कार्की, पूर्वअध्यक्ष कृष्ण सादगी भण्डारी, डा.श्याम थापा, डा.देशराज संयोग, डा.योगेन्द्र पनेरुलगायत सहभागी भएका थिए ।
उनीहरुले प्रविधिमैत्री विकासमा आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले नेपालमा स्थानीय सरकारको क्षमता, प्रविधिको प्रयोग र प्रवासी समुदायको भूमिकाबारे सकारात्मक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
तस्बिरहरु






टिप्पणीहरू