यौनवर्द्धक औषधि बरामद
औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन तथा बिक्री गर्नेहरूमाथि निगरानी बढाएको छ ।
सामाजिक सञ्जालमा विज्ञापन राखेर काठमाडौँका विभिन्न ठाउँबाट अवैध रुपमा औषधि उत्पादन तथा बिक्री भैरहेको गुनासो बढेपछि विभाग सक्रिय भएको हो । यसैक्रममा बालाजु र सितापाइला क्षेत्रमा अवैध औषधि उत्पादन तथा बेचबिखन भइरहेको तथ्य खुलेको छ ।
विभागले विभिन्न स्थानमा छापा मारी त्यस्ता औषधि उत्पादनमा प्रयोग भएका सामग्री र अन्य औषधिजन्य वस्तु जफतसमेत गरेको छ । विभागका औषधी व्यवस्थापक किरण बज्राचार्यका अनुसार दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधि बिक्री भएको सूचनाका आधारमा पछिल्लो १०–१५ दिनदेखि लोकेसन ट्रयाक गर्दै गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
‘दर्ता नभएको तथा अनलाइनको माध्यमबाट नक्कली औषधीहरु बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा विगत १०/१५ दिनदेखि लोकेसन ट्र्यास गरिरहेका थियौं । यहीक्रममा हामीले एकहप्ता अगाडि बालाजुको एउटा नक्कली औषधि बनाउने ठाउँमा सिज पनि गरेका थियौं’, उनले भने, ‘त्यसको अरु गिरोह खोज्दा सीतापाइलामा यौन बढाउने तथा जाँड रक्सी छुटाउने औषधि भनेर नक्कली औषधि उत्पादन तथा विक्री वितरण भइरहेको ठाउँमा पुगेका छौं । सञ्चालक फरार रहेका छन् । अरु सबै औषधिजन्य समानहरु हामीले जफत गर्छौं । औषधिको आधिकारिकता बुझेर मात्र किनबेच गर्नै आग्रह गर्दछौं ।’
औषधिको आधिकारिकता पुष्टि नगरी कुनै पनि औषधि खरिद–बिक्रि नगर्न विभागले सर्वसाधारणलाई सतर्क गराएको छ ।
टिप्पणीहरू