नयाँ मन्त्रीलाई सुब्बाको झ्याउलो
सुन्दै लाज लाग्ने कुरा,दुई तिहाइ बहुमतप्राप्त सरकारका एक उपप्रधानमन्त्री सुब्बा तहको कर्मचारी सरुवा बदरमा रुमल्लिएका छन् । मेयरमा पराजित भए पनि बा को प्रशंशायुक्त ‘राष्ट्रिय’ गीत लेखेलगत्तै राष्ट्रिय सभामा लगिएकी र सात महिना अवधि बाँकी रहेकी नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई समेत फोन सम्पर्क गरी तिनै उपप्रधानमन्त्रीले आफ्नो सुब्बालाई नचलाइदिन आग्रह गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत बिग ६ को निवासमा आवश्यक सामग्री व्यवस्थापन गर्ने कार्यालयका कर्मचारी हुन्, सुनिल रोकाय । पटक–पटक सरुवा भइसकेका तिनैलाई थाम्न बूढानीलकण्ठदेखि चाक्सीबारीसम्मको फोन सामान्यका कर्मचारीलाई पुग्ने गरेको छ । यस अलावा कांग्रेसनिकट कर्मचारी ट्रेड युनियनकै उपल्लो तहका नेतासमेत मन्त्रालय पुगेर सहसचिव, सचिवका अगाडि रोकायको विषयमा पाखुरा सुर्किने सिलसिला अस्ति आइतबारसम्म जारी छ । रोकाय कांग्रेस सभापतिका पिए भानु देउवाका ज्वाइँ हुन् । बझांगे सुनिल यसअघि शहरी विभागमा थिए ।
प्रकाशमान मन्त्री भएसँगै भिआइपीहरूका निवासमा सामग्री सप्लाई गर्ने निकाय स्टोरको हर्ताकर्ता बनाएर खटाइयो असोजमा । मंसिर ४ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा सरुवा भएका सुनिलका विषयमा ठेकेदारदेखि कर्मचारीहरूबाटै अनेकन गुनासो आउन थालेपछि कार्यालय प्रमुख चक्रवर्ती कण्ठ पनि विपक्षमा उभिए र ९ वैशाखमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुको हस्ताक्षर रहेको सरुवा पत्रमा उनलाई काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितितिर खटाइयो तर तीन महिनासम्म पनि उनले सो कार्यालय छाडेका छैनन् । बरु एउटा सुब्बाको सरुवा रोकाउन ठुल्ठूला नेताहरूले नवनियुक्त मन्त्रीलाई दवाव दिन थालेका छन् ।
आइतबार मात्र देउवा खेमाका एक ट्रेड युनियनकर्मीले रोकायको सरुवा बदर नभए सहसचिव पिताम्बर घिमिरे, कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव कमल भट्टराई र स्थानीय प्रशासन शाखा प्रमुख उपसचिव भीमकान्त पौडेललाई कार्यालयमै मोसो दल्ने धम्की दिएर फर्किएसँगै तत्काल सरुवा बदर हुने स्थितिमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ । यिनका अलावा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालकै फोन गएपछि मन्त्रालयका कर्मचारीहरू युटर्न भएको बुझिएको छ ।
टिप्पणीहरू