राजश्व अनुसन्धानका लागि ह्याकुलो छामिँदै
प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको रिक्त महानिर्देशकमा नयाँ पात्रको खोजी थालिएको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले राजश्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयबाट सोझै प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभएको थियो ।
गत असार १४ गतेदेखि चण्डीप्रसाद घिमिरे अवकाशमा गएपछि महानिर्देशक पद रिक्त छ । त्यसका लागि केही पात्रहरुको दौड र प्रारम्भिक छनौट एकैसाथ हुन थालेको बताइन्छ । पहिले सिडिओ रहेका उदय रानादेखि कोषहरि निरौलासम्मलाई मुख्य प्रत्यासी मानिएको चर्चा कर्मचारी वृत्तमा व्याप्त छ ।
पहिले झापाको सिडिओ तत्कालीन प्रधानमन्त्री ओलीले बनाउनुभए पनि उनै रानालाई बालकोट र बालुवाटारमा तीन वर्षदेखि भेट नदिएको एकथरीको दाबी छ । नुवाकोटे रानालाई पछिल्लो समय प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले च्यापेकाले पनि राजश्व अनुसन्धानको जिम्मेवारी पाउने संभावना छ ।
यता सञ्चार मन्त्रालयमा प्रशासन प्रमुख रहेका पूर्व सिडिओ कोषहरि निरौलालाई पनि सम्भावित उम्मेदवार भन्न थालिएको छ । राजश्व क्याडरको रुपमा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तीर्थ चिलवाललाई बलियो उम्मेदवार भनिन्छ । उनी विभागका महानिर्देशक मदन दाहालसँगै एक साताको भ्रमणमा अफ्रिका पुगेका छन् ।
राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रशासन समूहका क्याडरलाई नलैजाने सामान्य लिखित अण्डरस्टाण्डिङ सरकारले यसअघि गरेको बताइन्छ । यसको अर्थ प्रशासनको सहसचिवलाई अनुसन्धानको नेतृत्वमा नलैजाने भन्ने हो । तर विगतमा एक पटक रामकृष्ण सुवेदीलाई माओवादीले प्रशासनको कर्मचारी हुँदाहुँदै विभागको जिम्मेवारी दिएको थियो ।
अहिले चर्चामा आएका रानाको नाममा सल्लाहकार रिमाल फ्याक्टर जोडिएको र निरौलाको हकमा कोशी पारीको फ्याक्टरले काम गर्नसक्छ भन्नेहरु पनि छन् । भन्छन्, ‘कि कर्णाली पारिको हुनुपर्छ कि कोशी पारिको भन्ने मान्यता चलेको छ । कर्णालीपारि भएपछि देउवाले च्याप्ने,पूर्वकालाई ओलीले । पछिल्लो समय नुवाकोटेलाई पनि एउटा फ्याक्टरले समाउने गरेको धेरैवटा नियुक्ति र जिम्मेवारीमा देखिएको छ ।’
टिप्पणीहरू