क्यान्टिन चलाउन २५ लाख कमिसन !

क्यान्टिन चलाउन २५ लाख कमिसन !

यस्तै बदमासी भेटिएको छ, मुलुककै जेठो र पुरानो वीर अस्पतालमा । लेखाका उपसचिव र लेखा अधिकृतहरूले कागजात नपुग्ने चमेना गृहसँग २५ लाख रकम बुझेर सात महिनादेखि त्यहाँ चमेना गृह सञ्चालन गर्न दिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतकै एक कार्यालयले समेत कैफियत भन्दै गल्ती सच्याउन पटक–पटक स्पष्ट निर्देशन दिँदासमेत मुलुकको वीर अस्पतालका हाकिमहरूले अटेरी गरिरहेको भेटिएको हो ।

मंसिरमा अस्पतालका उच्च प्रशासक र लेखाका कर्मचारीको मिलेमतोमा कीर्ते कागजातका आधारमा चेमना गृह सञ्चालन अनुमति दिएको भेटिएसँगै सो विषयमा अख्तियारदेखि सतर्कता केन्द्रसम्म उजुरी पुगेको थियो । वीर अस्पतालकै कर्मचारीको उजुरीपछि सतर्कता केन्द्रले पटक–पटक वीर अस्पतालका नाममा केन्द्रको निर्देशन पालना गर्न पत्राचार गरे पनि वीरले उक्त निर्देशन अटेरी गरेको भेटिएको छ । वीर अस्पतालले गत ०८१ कात्तिक ९ गते चमेना गृह सञ्चालन गर्नका लागि एक बोलपत्र प्रकाशन गरेको थियो । बोलपत्र आह्वान पछि गुजेश्वरी होटल प्रालि, जी एण्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एण्ड क्यान्टिन, आरएस मल्टिप्रपोज, नारायणी चमेना गृह र ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेको कागजात केलाउँदा भेटिन्छ । तीमध्येबाट सबैभन्दा कम रेट कबोल गर्ने गुजेश्वरीलाई चेमना गृह चलाउन अनुमति दिइएको देखिन्छ, मूल्यांकन समितिबाट । सो समितिमा डा. सन्तोष पौडेल अध्यक्ष, हिमलाल अधिकारी (लेखा उपसचिव), पूर्णिमा रिमाल, खरिद इकाई प्रमुख विष्णुमाया बञ्जाड, सिजन पौडेल, महानराज ओली सदस्य छन् । ०८१ मंसिर २८ मा योग्यताको कागजात नै नपुगेको फर्म गुजेश्वरी होटल प्रालिलाई छनोट गरेको विषयमा वीरकै कर्मचारीले सरोकारवाला निकायमा उजुरी पुर्‍याएका हुन् ।

कागजात हेर्दा सो चमेना गृहले हालेको प्रस्तावमा लागत अनुमानभन्दा सयौं गुणा घटाई प्रस्ताव पेश गरेको भेटिन्छ । जस्तो हरियो मकै, टाइचिन चिउरा, आलु जिरा, खिरा काजुलगायत खाद्य सामग्री १ रुपैयाँ प्रति प्लेट खुवाउने प्रस्ताव हालेको छ । यसरी टेण्डर हत्याउनकै लागि अस्वाभाविक मूल्य पेश गर्ने सोही चेमना गृहलाई सञ्चालन अनुमति दिइएको भेटिएको छ । जबकि क्यान्टिन सञ्चालनमा ७ वर्षको कार्यानुभव हुनुपर्ने प्रावधानविपरीत प्रमाणपत्र कीर्ते पेश गरेको भेटिएसँगै गुजेश्वरी होटलको प्रस्ताव रद्द गरी योग्यता पुगेको कम्पनीलाई ठेक्का दिनू भनेर राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पताललाई स्पष्ट निर्देशन दिएको भए पनि अझै अस्पतालले कार्यान्वयन नगरेको हो । यसरी कीर्ते कागजात देखाएर, अस्वाभाविक मूल्य प्रस्ताव देखाएकै भरमा गुजेश्वरीलाई ठेक्का दिनका लागि लेखाका उपसचिव अधिकारी र लेखा अधिकृत ओलीले २५ लाख रकमको चलखेल भएको वीर अस्पतालका कर्मचारीको दावी छ ।

टिप्पणीहरू