होहल्ला बीच मध्यराती ‘हृदयविदारक’ निर्णय
(एमाले बैठकका बिस्तृत बिवरण)
पूर्व राष्ट्रपति तथा उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता खोस्ने र राजनीतिमा फर्किने बाटो बन्द गर्ने निर्णय गरेको नेकपा एमालेको केन्द्रीय समिति बैठक तनावपूर्ण वातावरणमा सम्पन्न भएको छ । हिजो मध्यरात बैठक समापन गर्दै अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पूर्व राष्ट्रपतिलाई पार्टीमा ठाउँ नरहेको निर्णय सुनाउँदै गर्दा केही नेताले प्रतिवाद गरेका थिए । तर,ओलीको दबाब र प्रभावमा रहेको बैठकले उक्त निर्णय अनुमोदन गरेको घोषणा हुँदा समापन समारोह हो-हल्लामा परिणत भयो ।
विद्यालाई रोक्ने निर्णयप्रति उपाध्यक्ष युवराज ज्ञवाली,सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका थिए । उनीहरुले हात उठाएर बोल्न अनुमति मागेपछि तल हलबाट खगराज अधिकारीलगायत 'आइ लाभ यु केपी बा' को नारा लगाउनेहरूले प्रतिवाद गर्न थाले । त्यसपछि कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक 'मच्छिबजार' जस्तै बन्न पुग्यो ।
बैठक स्रोतका अनुसार त्यसक्रममा अध्यक्ष ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच चर्को भनाभनसमेत भएको थियो । पूर्व राष्ट्रपतिलाई निषेध गर्नु पार्टीका लागि जोखिमपूर्ण हुने भन्दै पाण्डेले पुनर्विचार गर्न अध्यक्षलाई पटक-पटक आग्रह गरेका थिए । तर, ओली राजी भएनन् ।
त्यसपछि उनले तत्कालीन रुसी कम्युनिस्ट पार्टीका महासचिव ख्रुश्चेभको एउटा प्रसंग स्मरण गर्दै ओलीलाई स्टालिन शैलीमा पार्टी नचलाउन सुझाव दिए ।
उनले भने,'एउटा कुरा सम्झाउन चाहन्छु, छैठौँ महाधिवेशनको हलबाट हामीले दुई जना कमरेडलाई निकाल्यौँ,कमरेड योगेश भट्टराई र कमरेड रुपनारायण श्रेष्ठ । पछि सदस्यता रि गर्ने निर्णय गर्नुपर्यो ..' पाण्डेले भनाइ टुंग्याउन पाएकै थिएनन् रिसाउँदै ओलीले सोधे, 'के कारणले निकालेको रे !'
'स्टालिनको बुट बजेको सुन्नेबित्तिकै बोल्सेभिक पार्टी र तिनका सदस्यहरू लगलग काम्थे ! त्यस्तै पार्टी बनाउन खोज्नुभएको हो ?,’ उनले यसोभन्दा हलबाट खगराजहरू त उफ्रिने नै भए, ओली झन आक्रोशित सुनिए । बैठकको अध्यक्षता गरिरहेका उनले क्रोधित हुँदै भने, 'यो बैठक खेद प्रकट गर्दछ !'
केन्द्रीय सदस्यहरुलाई दबाब,प्रभाव र डर-त्रासमा राखेर बैठकमा ओलीको रुचिअनुसार रिपोर्टिङ गराइएको र त्यसका आधारमा निर्णय गरिएकाले पार्टीमा निर्धक्क भएर बोल्ने अवस्था छैन भन्नेतर्फ पाण्डेको भनाइ लक्षित थियो ।
त्यस्तै, उनले अध्यक्ष ओलीलाई २०५४ सालको सातौँ महाधिवेशनमा योगेश भट्टराई र रुपनारायण श्रेष्ठमाथि भएको कारबाहीको प्रसंग पनि स्मरण गराएका थिए । महाधिवेशन चलिरहेका बेला भट्टराई र श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो । तर पछि कारबाही फिर्ता गर्न नेतृत्व बाध्य भयो ।
विद्याको सन्दर्भमा पनि निर्णय सच्याउनुपर्ने अवस्थाको पूर्वानुमान गर्दै पाण्डले भने, 'एउटा कुरा सम्झाउन चाहन्छु, छैठौँ महाधिवेशनको हलबाट हामीले दुई जना कमरेडलाई निकाल्यौँ,कमरेड योगेश भट्टराई र कमरेड रुपनारायण श्रेष्ठ । पछि सदस्यता रि गर्ने निर्णय गर्नुपर्यो ..' उनले भनाइ टुंग्याउन पाएकै थिएनन् रिसाउँदै ओलीले सोधे, 'के कारणले निकालेको रे !'
'खै कारण त मैले पनि बिर्सें,उताबाट भीम रावलले एकदम उत्तेजित भएर कोट र झोला फाल्नुभयो, त्यसपछि निकाल्ने निर्णय भयो । त्यसको परिणाम के भयो तपाईंहरुले देख्नुभएकै छ', पाण्डेको जवाफ थियो ।
'एमाले र माओवादीलाई अदालतले छुट्टा-छुट्टै बनाइदिएपछि माधव,झलनाथहरू लज्जित भएर पनि एमालेमै बस्न चाहन्थे,तर ओलीले नै धकेलेर निकाल्नुभयो । वामदेवलाई पटक-पटक मूर्ख बनाइएको सबैलाई थाहै छ । भीम रावलले पार्टी छोड्न खोजेका थिएनन्,तर टिक्नखान दिईएन',
यो प्रसंगमा पनि ओलीलाई बा भनेर राजनीतिमा तरक्की गरेकाहरुले पाण्डेविरुद्ध होहल्ला गरे । मञ्चमा बा क्रुद्ध भएको देखेका उनीहरु इतिहासतिर फर्किएर अहिले निर्णय प्रभावित पार्न पाइंदैन भन्दै उफ्रिएका थिए ।
निर्णयमा फरक मत राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पूर्व राष्ट्रपतिको बाटो छेक्ने कदम पार्टीका लागि प्रत्युत्पादक हुनसक्ने बताए । निकै भावुक कुरा गरेका उनले पूर्व राष्ट्रपति जस्तो मान्छेलाई सदस्यतामै रोक्ने निर्णयको पार्टीले मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिए ।
'यसले खतरा ल्याउँछ,राम्रो हुँदैन । यस्तो निर्णय नगरौँ,भनेको मान्नुस्',अध्यक्ष ओलीलाई ज्ञवालीको अनुरोध थियो । यो निर्णयले पार्टी विभाजनको तहसम्म पुर्याउने भन्दै उनले गम्भीर चिन्ता जनाए ।
'मान्दै मान्नुहुन्न भने त मेरो के लाग्छ र ! तर,मान्नुस् । यस्तो नगर्नुस् । यसको धेरै ठूलो असर पर्छ', उनले तीन पटकसम्म यस्तो भन्दा पनि ओलीको हृदय पग्लेन । त्यसपछि ज्ञवालीले यो निर्णयलाई 'हृदयविदारक निर्णय' भनेर अभिव्यक्ति टुंग्याए ।
मदन भण्डारीको जीवनसंगिनीलाई नै पार्टीमा प्रवेश गर्न रोक्ने यो निर्णय एमाले जीवनका लागि वास्तवमै दु:खदायी घटना हो । अध्यक्षमा ओलीको निरन्तरतानिम्ति सिंगो पार्टी विभाजित हुनुपर्ने ? पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा 'पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उपयुक्त हुँदैन' भन्ने मत राख्नेहरुसमेत यो निर्णयपछि निराश देखिएका छन् ।
'पार्टीमा बन्देज लगाए पनि विद्या भण्डारीको गतिविधि रोकिने होइन । उनले अब झन् भेटघाट बढाउँछिन्,देश दौडाहा गरिरहन्छिन्,त्यसैले यो निर्णयले पार्टीमा एउटा पंक्तिलाई निरास र निस्क्रिय बनाउँछ',बालुवाटार निकट एक नेता भन्छन्, 'बैठकमा बोल्दा मैले पनि सम्मानित पदमा पुगेका व्यक्तिहरु फेरि राजनीतिमा फर्कनु राम्रो होइन भनेकै हो । तर,हिजो जुन वातावरणमा जस्तो निर्णय भयो त्यसले राम्रो गर्दैन । श्री ३ महाराजको हुकुमजस्तो मैले बोलेपछि बोल्यो बोल्यो भन्ने हिसाबले जाँदा पार्टीलाई राम्रो गर्दैन ।'
बैठकमा ओलीलाई रिझाउने गरी प्रदेश इञ्चार्जहरूको समन्वयमा गुटको भेला गरेर सदस्यहरूलाई रिपोर्टिङ गराई विद्याको विरुद्धमा जबर्जस्त माहोल बनाइएको थियो । त्यसको बलमा लिइएको निर्णयको कानुनी र राजनीति दुवै हिसाबले प्रतिवाद गर्ने विद्याको तयारी छ ।
'एमाले र माओवादीलाई अदालतले छुट्टा-छुट्टै बनाइदिएपछि माधव,झलनाथहरू लज्जित भएर पनि एमालेमै बस्न चाहन्थे,तर ओलीले नै धकेलेर निकाल्नुभयो । वामदेवलाई पटक-पटक मूर्ख बनाइएको सबैलाई थाहै छ । भीम रावलले पार्टी छोड्न खोजेका थिएनन्,तर टिक्नखान दिईएन', उनै नेता भन्छन्, 'हुँदाहुँदा अहिले आएर विद्या भण्डारीलाई समेत सहेनन् । शंकर पोखरेल,प्रदिप ज्ञवालीहरू जो अहिले चाकरी गरिरहेका छन्, भोलि उनीहरुबाट पनि चुनौती महसुस गरे भने निकाल्छन् ।'
टिप्पणीहरू