एअरपोर्ट छेउको डिपो सार्ने तयारी तीब्र

एअरपोर्ट छेउको डिपो सार्ने तयारी तीब्र

नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ ।

गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा डिपो सारिने छ । आयल निगमले २०८४ मंसिरभित्र स्थानान्तरण गरिसक्ने लक्ष्यका साथ अत्याधुनिक डिपो बनाउने छ । 

आज त्यसको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) सार्वजनिक गरिएको छ । भदौमा टेण्डर गर्ने तयारी छ ।

गत मंसिरमा डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । सोहीअनुसार आज इञ्जिनियरिङ संस्थानले निगमलाई डिपिआर हस्तान्तरण गर्यो । 

निगमको डिपो प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरू निकै पुरानो मोडलको भएको उल्लेख गर्दै अब भने अत्याधुनिक प्रविधिको बनाउने बताए । उनले योजनाअनुसार नै काम सम्पन्न हुने विश्वाससमेत जनाएका छन् । 

सरकारी इन्जिनियरहरूले ६ अर्ब ५४ करोड लगानीको परियोजना डिपिआर निर्धारित समयभित्रै बुझाएको भन्दै यादवले सन्तोष व्यक्त गरे । यसले आगामी दिनमा परियोजना अघि बढाउन थप सघाउ पुग्ने उनको विश्वास छ । 

यसअघि निगमले पोखरामामा पनि पुल्चोक इञ्जिनियरिङकै सहयोगमा डिपोको डिपिआर बनाएको थियो । जबकि अहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डिपिआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको अवस्था विद्यमान छ । 

कार्यालय प्रमुख यादवले भने, ‘विगतमा नागरिक उड्यन प्राधिकरणले जुन डिपिआर बनाउन एडीबीलाई गुहारेर जर्मनको हन्सा कन्सल्टलाई बोलाएर ५० औं करोड खर्च गरे त्यो डिपिआर पुल्चोक इन्जिनियरिङ क्याम्पसले १ करोड ९८ लाखमा समयमै बनाएर दिएको छ । हाम्रा नेपाली इन्जिनियरहरुले बनाएका छन् । जुन सेक्टरमा हामी अघि बढ्दैछौं । त्यो क्षेत्रमा हाम्रा नेपाली व्यवसायी, नेपाली इन्जिनियरलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।’

 त्रिभूवन विमानस्थलसँगै जोडिएका कारण जोखिम बढाएको भन्दै विगत लामो समयदेखि डिपो स्थानान्तरण गर्नुपर्ने आवाज उठ्दै आएको थियो । डिपोका कारण स्थानीय बासिन्दासमेत जोखिममा छन् ।

टिप्पणीहरू