संरक्षण संगै प्रचारको अभावले ओझेलमा ऐतिहासीक भद्रिबम शिवालय

संरक्षण संगै प्रचारको अभावले ओझेलमा ऐतिहासीक भद्रिबम शिवालय फोटो क्याप्सन : बेनी नगरपालिका ७ मा रहेको भद्रिवम शिवालय मन्दिर

अमृत प्रसाद पौडेल

 म्याग्दीका विभिन्न महत्वपूर्ण पर्यटकीय गन्तव्य मध्येको एक हो म्याग्दीको सदरमुकाम बेनीमा रहेको भद्रिबम शिवालय । तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी ऐतिहासीक मन्दिरको उचित संरक्षण र प्रचार अभाव भने खड्कीएकै छ । इतिहासको तथ्यलाई आधार मान्दा बि.सं. १७५० मा निर्माण गरिएको यो शिवालय ऐतिहासीक अवस्था नियाल्ने आँखीझ्यालको रुपमा पनि लिने गरिन्छ । धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्ने प्रचुर सम्भावना रहेको भद्रिबम शिवालयको शिर वरको रुखले मन्दीरको शोभा बढाउदा जराले शिवालयको पर्खाल घेरि भगवानलाई शेषनागले घेरेको जस्तो अनुभव गर्न सकिन्छ । 

ऐतिहासीक पर्वत राज्यको इतिहास अनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम मल्लले १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा विजय प्राप्त गरेको इतिहास छ । राजा डिम्बपछि छोरानाति हुँदै मलेबम मल्ल राजा भएको र मलेबमले आफ्ना भाइ भद्रिबमलाई ज्यामरुककोटको शासनभार सुम्पेको बुझिन्छ । कालन्तरमा मलेबम र भद्रिबमबीच अन्तरबिरोध उत्पन्न भएपछि मलेबमले भाइलाई ज्यामरुकबाट हटाउन खोज्दा हट्न नमानेपछि षड्यन्त्र गरी हत्या गरेको तथ्यहरुले देखाउँछ । हत्या पछि भद्रिमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेबमले शुरु गरेको पुजा आज सम्मम पनि नियमित रहेको बेनी शिवालय संरक्षण समितिका उपाध्यक्ष सुन्दर केसीको भनाई छ । वि.सं. १८४३ मा बहादुर शाहले पर्वतका राजा कीर्तिबम मल्ल पराजित भई राज्य विशाल नेपालमा गाभिन पुग्यो ।

बेनीमा शिवालय स्थापना गरेर राजा मलेबमले बागलुङको बागलुङ नगरपालिका–६ लहरेपीपलमा बेनी शिवालयको नाउँमा व्यवस्था गरिदिएको गुठी अझैसम्म पनि अस्तित्वमा रहेको छ । भद्रिबमकै इच्छा मुताविक १७५० मा बेनी शिवालय मन्दिरको निर्माण गरेको र त्यसको २२ वर्ष पछि १७७२ मा मलेबमले ढलोटको घण्टी मन्दिरमा चढाउनु भएको थियो । मलेबम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो ।

आफ्ना पति भद्रिबमको हत्याको खबर पाएपछि रानी विश्वमता, महारानी श्यामसुन्दरी देवी स्वरुपिणी मल्ल, पुत्र गोरे मल्ल र भान्छे बाहुनीका साथ हालको मङ्गलाघाट बजारदेखि माथि कुरिलाखर्कमा आफ्नो राज्य (ज्यामरुककोट) देखिने ठाउँमा गई तीन जना नै अल्पिएको र हालसम्म उनै श्यामसुन्दरी देवी स्वरुपिणी महारानीको पूजा गर्ने गरेको पाइन्छ । उनीहरुले राज्य गरेको ठाउँ ज्यामरुकोटमा भने उनको कुनै चर्चा गरेको पाइँदैन । मलेबमले भाइको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भद्रिबमले सपनामा मेरो शिर राखिएको ठाउँमा जबसम्म हरियो रुख रहन्छ तबसम्म भद्रिबम जिवित छ र उ ज्यामरुककोटमा रहिरहन्छ भनेको भन्ने किंवदन्ती अझै पनि सुन्न पाइन्छ । र मन्दिरको शिरमा रहेको बरको रुखलाई मलेबम अझै पनि जिविर रहेको आधार मान्नु पर्ने तर्क पनि गरिन्छ ।

ऐतिहासिक महत्वको शिवालयको संरक्षणका लागि २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले बताउनुभयो । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनमूलक कार्य गर्ने प्रयास गर्दै आएको उहाँको भनाई छ ।

 

टिप्पणीहरू