विद्यार्थीको प्रश्नमा किरातीको जवाफ,‘माओवादी अहिले बिरामी छ’
युथ भिजिट नेटवर्कले ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम गरेको छ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीको प्रमुख उपस्थितिमा हिजो राजधानीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले सांसद किरातीसँग राजनीतिक यात्रा, सांसद भएपछि गरेका काम, मन्त्री रहँदाको अनुभव, केपी शर्मा ओली नेतृत्वको सरकारको मूल्याङ्कन तथा २०८४ को निर्वाचनमा माओवादीको रणनीति र लक्ष्यलगायतका प्रश्न सोधेका थिए ।
विद्यार्थीको प्रश्नको जवाफ दिँदै उनले माओवादी हाल बिरामी अवस्थामा रहेको बताए । पार्टीको वर्तमान अवस्थाबारे प्रष्ट धारणा राख्दै उनले भने,‘माओवादी अहिले बिरामी छ । २०६४ सालमा मुलुकको सबैभन्दा ठूलो पार्टी बनेको माओवादी तेस्रो स्थानमा झरेको छ ।’
त्यसैगरी, उनले ओली सरकारको आलोचना गरे । वर्तमान सरकार जनताको भावना सम्बोधन गरेर काम गर्न असफल भएको उनको जिकिर छ । अगाडि थपे,‘ओली सरकारले जनताको भावनाको सम्बोधन गरेर ठोस काम गर्न सकेको छैन ।’
नेटवर्कले विद्यार्थी र जनप्रतिनिधिबीच प्रगाढ सम्बन्ध बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न थालेको हो । हिजोको कार्यक्रम ‘विद्यार्थीसँग जनप्रतिनिधि’ श्रृङ्खलाको तेस्रो भाग हो ।
तस्बिरहरु







टिप्पणीहरू