ज्ञापन पत्रलगत्तै आईजीपीको निर्देशन

ज्ञापन पत्रलगत्तै आईजीपीको निर्देशन

नेपाल प्रहरीले तोकिएकोभन्दा बढी लोड बोक्ने मालवाहक सवारी साधनलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकासहित सातै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र गर्दै ‘मालवाहक सवारी साधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)’ कडाईका साथ लागू गर्न निर्देशन दिएको हो । 

सवारी साधनमा अत्यधिक भारवाहन (लोड) नियन्त्रणको माग गर्दै हिजो नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई ज्ञापन पत्र बुझाएको थियो । भारवाहन नियमनसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड बढेको जनाउँदै महासंघले सोको उचित कार्यान्वयन र कारबाहीका निम्ति प्रदेश प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिन माग गरेको थियो । 

त्यसलगत्तै आईजीपी थापाले निर्देशिकाको कडाईका साथ कार्यान्वयन र एक पटकभन्दा बढी नियम उल्लंघन गर्ने त्यस्ता सवारी साधनलाई जरिवानाका अतिरिक्त पटके कायम गरी थप कारबाहीका निम्ति सम्बन्धित यातायात कार्यालयमा अनिवार्य पठाउन निर्देश गरेका छन् । 

परिपत्रमा भनिएको छ, ‘मालवाहक सवारी साधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)’ मा भएका व्यवस्थाहरु कडाईका साथ कार्यान्वयन गर्नु गराउनु हुनका साथै अधिकतम सिमाभन्दा बढी भारवाहन बोकेका सवारी साधनहरुलाई जरिवानाका अतिरिक्त बढी भएको भारवाहनलाई पल्टी गराई अर्को सवारी साधनमा लोड गरी भारवाहन क्षमता कायम गरी मात्र छाड्ने व्यवस्था मिलाउनुहुन र एक पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने भन्सारबाट छुटेका तोकिएको भारवाहन क्षमताभन्दा बढी भारवाहन बोकेका मालवाहक सवारी साधनलाई जरिवानाका अतिरिक्त पटके कायम गरी थप कारबाहीका लागि सम्बन्धित यातायात कार्यालयमा अनिवार्य रुपमा पठाउने व्यवस्था मिलाउनू ।’

साथै, सोको कार्यान्वयन भए–नभएको समबन्धमा नियमित अनुगमनसँगै कार्यान्वयन नभएको पाइएमा सम्बन्धित प्रहरी कर्मचारीउपर आवश्यक कारबाही गर्न पनि हेडक्वार्टरको निर्देशन छ ।

टिप्पणीहरू