जनार्दनमाथि ‘अल्लारे राजनीति’ गरेको र माओवादी लय बिगारेको आरोप
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै पार्टी उपमहासचिव जनार्दन शर्माले धारावाहिक अभिव्यक्ति दिन थालेपछि कार्यकर्तापंक्ति तातेको छ । साउन ६ गते राष्ट्रिय सभा गृहमा आयोजित ‘कम्युनिष्ट आन्दोलन र वर्तमान राजनीति’ विषयक अन्तर्कियामा बोल्दै शर्माले भनेका थिए, ‘पार्टीमा अहिले जनवादको अभ्यास शुन्यप्राय छ । जनवाद छैन, त्यहाँ त मात्र केन्द्रीयता छ, आदेश छ, चाकडी छ, निरकुंशता छ । पार्टी नेतृत्वबाट सुझावसहित अघि बढ्ने, उर्जा बाँड्ने प्रयास भएको छैन । बाहिर भन्छौ संघीय लोकतान्त्रिक गणतन्त्र, तर पार्टीभित्र ठीक विपरित निरकुंशता छ । अनि कसरी चल्छ यो पार्टी ?’
शर्माले उक्त अभिव्यक्ति दिएको भोलिपल्ट प्रचण्डले पनि राष्ट्रिय सभा गृहमै आयोजित पुष्पलाल श्रेष्ठ स्मृति दिवसलाई सम्बोधन गर्दै घुमाउरो जवाफ दिए, ‘अहिले केही साथीहरूले अलि अलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरेका छन् । उनीहरूलाई मैले प्रशस्त सिंगौरी खेल्न दिएको छु, जति सिंगौरी खेल्न मन लाग्छ, खेल्नुस् भनेर दिएको छु । अस्ति डेढ महिना परामर्श भनेर देशभर लिएरै हिँडे, योभन्दा अरु के हो जनवाद ?’
यसरी पार्टीका शीर्ष नेताहरु सार्वजनिक कार्यक्रममै एकअर्काको कटाक्षमा उत्रिएपछि कार्यकर्तापंक्तिमा केही असन्तुष्ट र केही भ्रमित देखिन्छन् । खासगरी उपमहासचिव शर्मामाथि कार्यकर्ताले चर्को आक्रोश पोखेका छन् । उनीहरुले शर्मालाई सामाजिक सञ्जालमा ‘भिलेन’को रुपमा चित्रण गर्न थालेका छन्, भने केन्द्रीय नेताहरु पनि सन्तुष्ट देखिँदैनन् ।
प्रतिनिधि सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य राजन दाहाल उपमहासचिव शर्माले लय बिगार्दै गएको बताउँछन् । लोकतान्त्रिक पार्टीमा ‘आलोचना’ छुट भए पनि ‘आरोप’ छुट नभएको उनको विश्लेषण छ । ‘उहाँ (शर्मा) बारम्बार नेतृत्वबाट कमजोरी भयो भन्ने आरोप लगाउनुहुन्छ, तर आफैँ पनि नेतृत्वमा हुनुहुन्छ । त्यो दृष्टिकोणबाट आत्मसमीक्षा गर्नुपर्दैन ?’, उनले भने, ‘बहुमतको विजय, अल्पमतको सम्मान भन्ने पार्टीको मान्यता हो, उहाँले जति कुरा बाहिर राख्नुभयो, त्यो गलत हो ।’
शर्माले प्रचण्डमाथि आरोप लगाउनु हास्यास्पद रहेको दाहालको तर्क छ । ‘उहाँ आफै पार्टी पदाधिकारी हो, पटक पटक मन्त्री बन्ने उहाँ नै हो, अहिले आएर नेतृत्व खतम भयो भन्दा त्यसले स्वार्थको गन्ध दिन्छ, यस्तो आरोपले न उहाँलाई फाइदा गर्छ, न नेतृत्वलाई, बरु विरोधीलाई फाइदा पुग्छ’, उनले थपे ।
जिम्मेवार नेताले पार्टीको संस्थागत निर्णयलाई अनिवार्य मान्नुपर्ने दाहालको भनाई छ । तर, शर्माले त्यो जिम्मेवारी भुलेर ‘अल्लारे राजनीति’ गरिरहेको उनले बताए । अघि भने, ‘पार्टीको जिम्मेवार नेता भइसकेपछि बोल्न पायो भन्दैमा जे पनि बोल्नुहुन्न, संस्थागत निर्णयलाई मान्नुपर्छ, विधानले तोकेका अनुशासन र आचारसंहितमा रहनुपर्छ ।’
त्यस्तै, पार्टीका अर्का युवा नेता माधव सापकोटाले पनि शर्माले आफ्नै हैसियत बिर्सेको टिप्पणी गरेका छन् । शर्माले प्रचण्डमाथि वैचारिक आरोप भन्दा पनि नीजि आरोप लगाउँदै आएको उनको ठम्याई छ । तर ती आरोप व्यक्त गर्ने ठाउँ पार्टीभित्रै रहेको उनले बताए ।
‘उहाँ (शर्मा)ले वैचारिक कुरामा अलग भएर बोलेको जस्तो लाग्दैन, अध्यक्षज्यूको केही नीजि बानीहरुमाथि असन्तुष्टी पोख्नुभएको होला’, सापकोटाले भने, ‘वैचारिक भिन्नता भएको भए यतिबेलाको परिस्थिति अर्कै बनिसक्थयो, उहाँले नेतृत्वको शैलीप्रति मात्रै प्रश्न उठाउनुभएको हो, तर यहाँ गम्भीर गल्ती के गर्नुभयो भने, बोल्ने ठाउँको चयन गर्न सक्नुभएन ।’
प्रतिनिधि सभा सदस्य सापकोटाका अनुसार ‘घरको कुरा घरभित्र र पार्टीको कुरा पार्टीभित्रै राख्नुपर्ने हुन्छ’ । तर शर्माले आफ्ने पदीय हैसियत नै बिर्सिएर जथाभावी बोल्न थालेको उनको निष्कर्ष छ । ‘एउटा विचार र सिद्धान्तबाट चलिरहेको पार्टीमा कतिपयलाई पात्रहरुको कार्यशैलीमाथि गुनासो उठ्न सक्छ, तर त्यो गुनासो जहाँ पायो त्यही सुनाउँदै हिँड्ने होइन, पार्टीले निर्देश गरेका कुरा ख्याल गर्नुपर्छ’, उनले अगाडि भने, ‘उहाँले त्यही कुरा पार्टीको बैठकमा राखेको भए हुन्थ्यो, तर माइक पाएपछि बाहिरै बोल्नुभयो ।’
पार्टी नेतृत्वले कार्यकर्तामा आशा र उर्जा सञ्चार गर्नुपर्नेमा निराशा पैदा गरिरहेको उनको अनुभव छ । ‘अहिले पार्टीमा उहाँ (शर्मा)कै कारण कार्यकर्ता विभाजित हुने अवस्थामा पुगेका छन्, यसले राम्रो गर्दैन, बदनाम गराउँछ, अब स्थायी समिति बैठक (साउन १६) मा यसबारे केही ठोस छलफल हुनसक्छ’, उनले सुनाए ।
टिप्पणीहरू